Breaking

भारतीय पक्षले गरे महाकाली नदी पुल बन्द


काठमाडौं—भारतीय पक्षले नेपाल–भारत सिमानामा पर्ने महाकाली नदी पुलको बाटो बन्द गरेको छ । महाकाली पुलको बाटो बन्द भएपछि नेपालको दार्चुला सदरमुकाम र भारतको धारचुला आउ–जाउ बन्द भएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले एक जना भारतीय नागरिकको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न दबाब दिने उद्देश्यले महाकाली नदीको पुल बन्द गराएको बताए । भारतको धारचुलाका डिएम (डिस्ट्रिक मजिस्ट्रेट) सँग बाटो खुलाउन पहल गर्ने विषयमा कुराकानी भइरहेको उनले जानकारी दिए ।

आज बिहान ११ बजेदेखि भारतीयहरुले प्रदर्शन गर्दै आएका छन् । त्यतिबेलादेखि नै महाकाली नदी माथिको पुलको बाटो बन्द छ । दिउँसो केही मिनेट बाटो खुले पनि अहिले फेरि बन्द भएको उनले बताए । जुन ७ तारिखको दिन भारत धारचुलाका कमलेश दानुको चक्कु प्रहार गरी हत्या भएको थियो ।

उनको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाहीको माग गर्दै गत शनिबार अनुवाल समुदायका अध्यक्ष गुमान सिंह विष्ट नेतृत्वको टोलीले पिथौरागढका उपजिल्ला अधिकारी मनजित सिंहलाई ज्ञापनपत्र बुझाएको थियो । साथै उनीहरुले धारचुला बन्द र नेपाल–भारत सीमा पुल बन्द गर्ने घोषणा गरेका थिए ।