Breaking

कुन प्रदेशले कति बजेट ल्याए ?


काठमाडौं—संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरुले आज बजेट सार्वजनिक गरेका छन् । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशको बजेट सार्वजनिक भइसकेको छ । बागमतीको बजेट आउन ढिलाइ भएको छ भने आन्तरिक विवादका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रदेशसभाको बैठक नै अनिश्चित बनेको छ ।

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानामगरले चालू तर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पूँजीगत तर्फ १७ अर्ब १० करोड विनियोजन गर्नु भएको छ ।

वित्तीय व्यवस्थापन तर्फ १० करोड विनियोजन भएको छ । यस्तै, मधेश प्रदेश सरकारले ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजारको बजेट ल्याएको छ । चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार विनियोजन गरिएको छ भने पुँजीगततर्फ ३० अर्ब २६ करोडको बजेट विनियोजन गरिएको छ । मधेशका अर्थमन्त्री सुनीलकुमार यादवले प्रस्तुत गर्नु भएको बजेटमा सरकारले स्थानीय तहलाई वित्तीय समानीकरण अनुदानतर्फ एक अर्ब दश करोड छुट्याएको छ ।

यस्तै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले चालुतर्फ १२ अर्ब ६३ करोड अर्थात् ३९ दशमलव ५ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ९ करोड विनियोजन गरेको जानकारी दिनुभयो । यसैगरी, लुम्बिनी प्रदेश सरकारले ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजित छ ।

लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्नु भएको हो । वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८ दशमलव ८० प्रतिशत अनुमान गरिएको छ । यसैबीच, बागमती प्रदेश सरकारको बजेट प्रस्तुत निर्धारित समयमा हुन सकेको छैन । बजेटमाथि सरकारभित्रै विवाद उत्पन्न भएपछि बजेट प्रस्तुतका लागि आज दिउँसो ३ बजेलाई बोलाइएको प्रदेशसभाको बैठक अहिलेसम्म बस्न सकेको छैन ।

यस्तै, कर्णाली प्रदेशमा सरकारले ल्याउन लागेको बजेटमा माओवादीले असहमति जनाएपछि प्रदेशसभा बैठक अनिश्चित बनेको छ । अपारदर्शी तरिकाले योजना छनोट गरिएको भन्दै प्रमुख प्रतिपक्षी माओवादीसहित एकीकृत समाजवादी र राप्रपाले बहिस्कार गरेपछि प्रदेशसभा बैठक अनिश्चित बनेको हो । त्यस्तै सुदूरपश्चिम प्रदेशसभामा बजेट प्रस्तुत हुन सकेको छैन । बजेटको आकार र योजना समावेशलाई लिएर सत्ता साझेदार कांग्रेससँग विवाद भएपछि तयारी पूरा नभएको कारण देखाउँदै समयमा बजेट प्रस्तुत हुन सकेको छैन ।