राजनीति

तिनकुने घटना : दुर्गा प्रसाइसहित ७ जनालाई थुनामा पठाउन आदेश


काठमाडौं—गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये ७ जनालाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले विहिवार राति अवेर दिएको आदेशमा सात जनालाई थुनामा पठाउने आदेश दिएको हो ।

साँझ ५ बजे नै थुनछेक बहस सकिए पनि राति सवा १२ बजे मात्रै आदेश सार्वजनिक भएको थियो । तीनकुनेमा अवान्छित गतिविधिमा गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाइसहित ७ जनालाई काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउन आदेश गरेको छ ।

पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाहरूमा घर आगजनी र समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकको हत्यामा संलग्न आरोपीहरूसहित छन् । अदालतले प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, शुसिल बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठ लाई थुनामा पठाउन आदेश गरेको हो ।

१ सय ५५ पन्नाको आदेशमा तीनकुने घटनामै संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बारेमा भने केही उल्लेख छैन । अदालतमा उपस्थित नै नभएको भन्दै मिश्र र जबरालाई फरार प्रतिवादीको रुपमा अदालतले राखेको छ ।