Breaking

ओली हटाउने कांग्रेसको खेल, देउवा डराएपछि प्रचण्ड–गगन फेल


गृहमन्त्री रमेश लेखक प्रकरणले कांग्रेसलाई अप्ठ्यारोमा पारेको छ । विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामालाई ‘बटमलाइन’ बनाएपछि दबाबमा परेको कांग्रेस विपक्षी दलहरू फकाउन लाग्दा सत्ता साझेदार एमाले नै बिच्किने अवस्था बनेको छ । यही बेला विपक्षी दलहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री कै अफर गरिरहेको चर्चा छ । तर, पार्टीभित्रकै दबाबका बाबजुद देउवालाई तत्काल प्रधानमन्त्री बन्ने जाँगर किन चलिरहेको छैन त ?

गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा डामिएपछि सत्तारुढ दल नेपाली कांग्रेस अप्ठ्यारोमा परेको छ । कांग्रेसलाई यतिबेला भुइँको टिप्न खोज्दा पोल्टाको जोगाउन धौ–धौ परिरहेको छ । मानव तस्करी जस्तो गम्भीर प्रकरणमा मुछिएका गृहमन्त्री लेखकलाई जोगाउन पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसले विपक्षी दलहरूलाई रिझाउने अभियान नै चलायो । पछिल्लो दुई साताको अवधिमा कांग्रेसले नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग चरणबद्ध छलफल ग¥यो । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) सहित अन्य विपक्षी दलहरूसँग पनि कांग्रेसले छलफल गर्न भ्याइसकेको छ ।

११ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय भेटवार्ता नै गरे । सत्ता साझेदार एमालेलाई बेवास्ता गर्दै कांग्रेसले विपक्षीहरूसँग एक्लै छलफल ग¥यो र प्रतिपक्षी कित्ताका कमान्डर प्रचण्डलाई गृहमन्त्रीको राजीनामाको अडानबाट पछि हटाउन सफल भयो । आफ्नै क्याबिनेटको गृहमन्त्री मानव तस्करी जस्तो गम्भीर प्रकरणमा मुछिएपछि विपक्षी दलहरूको अवरोधले दुई सातादेखि सदन ठप्प हुँदा समेत रमिते बनेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेले न त स्वयं कुनै पहल ग¥यो, न त कांग्रेसले गरेको पहलप्रति नै सन्तुष्टि जनाउन सक्यो । दुईतिहाइको बलमा प्रतिपक्षलाई पेलेरै जाने ओलीको रणनीति कांग्रेसले नमानेपछि अहिले ओली र एमाले नै बिच्किएका छन् । गृहमन्त्री प्रकरणले बन्धक बनेको सदन खुलाउने सवालमा अझै सहमति जुट्न सकेको छैन ।

गृहमन्त्री प्रकरणले प्रधानमन्त्री ओली र सभापति देउवाबीच खटपट चुलिएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियारको मुद्दालाई लिएर देउवाले ओलीलाई नभई प्रचण्डलाई फोन गरेर आश्चर्य जनाउनु र लगत्तै शनिबार देउवा–प्रचण्डबीच द्विपक्षीय भेट हुनुले थप शङ्का उब्जाएको छ । ‘माधवलाई तह लगाएर प्रचण्डलाई तर्साउने’ ओलीको अस्त्र आफैँलाई भारी पर्ने त होइन? भन्ने प्रश्न तेर्सिएको छ भने देउवा र ओलीबीचको आपसी विश्वास धर्मराएको अड्कल गर्न सकिन्छ । कांग्रेस–एमाले नेतृत्वको शक्तिशाली सरकार ढाल्ने मौका कुरेर बसेका विपक्षी दलहरू यही मौकामा देउवालाई प्रधानमन्त्रीकै अफर गरिरहेको हल्ला राजनीतिक वृत्तमा छ । अख्तियारले डामेपछि माधव नेपाल देउवाकै भर पर्न थालेका छन् ।

यस्तै, माओवादी पार्टी उपाध्यक्ष अग्नि सापकोटाको द्वन्द्वकालीन मुद्दा अदालतले ब्युँताइदिएपछि प्रचण्डलाई पनि देउवा फकाउनुको विकल्प छैन । अन्य विपक्षी दलहरू पनि ओलीभन्दा देउवा प्रधानमन्त्री भए सहज हुने आशासहित देउवालाई प्रधानमन्त्री स्वीकार गर्न तयार रहेको बताइन्छ । देउवाका आलोचक मानिने कांग्रेसीहरू नै अहिले छिटोभन्दा छिटो देउवा प्रधानमन्त्री भएको हेर्न चाहन्छन् । संसद्को ठूलो दल भएकाले कांग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्ने पक्षमा कांग्रेस नेताहरू छन् । कहिलेसम्म ओलीको काँध थाम्ने भन्दै उनीहरूले देउवालाई प्रश्न गरिरहेका छन् ।

संस्थापनइतर शेखर कोइराला समूह मात्र होइन, महामन्त्री गगन थापासहित धेरै नेताहरूलाई सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीको राजनीतिक रवैया मन परेको छैन । आफ्नै पार्टी सरकारमा हुँदा समेत सरकारको कामकारबाहीप्रति कांग्रेसी नेताहरूको मौनता यसको उदाहरण मान्न सकिन्छ । अर्थात्, देउवाले चाहे तत्काल सत्तारोहण गर्न सक्छन् । प्रधानमन्त्री बन्न पालो कुरेर बसेका देउवाले चाहे १३ महिनापछि होइन, अहिले नै प्रधानमन्त्री बन्न सक्ने राजनीतिक परिस्थिति छ । तथापि, सभापति देउवालाई तत्काल प्रधानमन्त्री बन्न जाँगर चलेको छैन; उनी प्रधानमन्त्री बन्न डराइरहेका छन् ।

कारण, देउवा हतारमा प्रधानमन्त्री बनेर जोखिम लिन चाहँदैनन् । यसअघि पटक–पटक धोका पाइसकेका प्रचण्डलाई पत्याएर मुखैमा आइसकेको पद गुमाउन देउवा तयार छैनन् । साना दलहरूसँग मिलेर सरकार चलाउनुभन्दा १३ महिना कुरेर सहज बहुमतको लोभमा देउवा छन् । ओलीले पटक–पटक सत्ता हस्तान्तरण गर्ने मिति तोकेकै कारण उनी थप ढुक्क छन् । पार्टीगत रूपमा पनि आफू प्रधानमन्त्री भएका बेला पार्टीको महाधिवेशन गरेर आफूले चाहेका मान्छेहरूलाई नेतृत्वमा पु¥याउन मद्दत पुग्ने लोभ पनि देउवालाई छ । अर्कोतर्फ, भूराजनीतिक रूपमा तत्काल देउवाले प्रधानमन्त्रीको लोभ गरेर एमालेको साथ छोडे कम्युनिस्ट शक्तिहरू मिल्नेदेखि नेकपा नै ब्युँतिने डर उनीभित्र छ ।

अझ, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणपछि देउवा यसबारे थप सशङ्कित देखिन्छन् । देउवाको यो ‘अकर्मण्यता’ कमजोरी होइन, बरु सत्ता राजनीतिका अनेकौँ धोका र दाउपेचबाट खारिएको एक चतुर खेलाडीको रणनीतिक धैर्य मान्न सकिन्छ ।