Breaking

संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि आज फैसला नआउने


काठमाडौं—संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा दायर मुद्दाको आज फैसला नआउने भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा रहेको उक्त मुद्दामा आज फैसला आउने भनिए पनि निर्णय सुनाउने मिति सरेको हो । आजै इजलासले निर्णय सुनाउने अर्को मिति तोक्ने सर्वोच्च स्रोतले जनाएको छ ।

उक्त मुद्दामा गत जेठ १ गते सुनुवाइ सकिएपछि बुधबारका लागि निर्णय सुनाउने मिति तोकिएको थियो । सोही बमोजिम बुधबार प्रधानन्यायाधीश राउतसहितको संवैधानिक इजलास तोकिएसँगै अन्य मुद्दाहरू हेर्न नभ्याइनेमा राखेर दिनभर सम्बन्धित न्यायाधीशहरूबिच छलफल चलेको थियो ।

तर, ६ घण्टा छलफलपछि आज फैसला नहुने निर्णय भएको हो । न्यायाधीशहरूबिच राय बाझिएकाले आज फैसला नआएको हुनसक्ने कानुनविद्हरूको भनाइ छ । यससँगै आज फैसला नहुने र अर्को मिति तोकिने जानकारी इजलास अधिकृतले सञ्चारकर्मीहरूलाई जानकारी गराए ।