Breaking

लेखक प्रकरण : उत्कर्षमा कांग्रेस–रास्वपा भिडन्त, गृहले रोक्यो रविको जेल सरुवा


नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एकले अर्कोलाई सकेसम्म भित्तामा पु¥याउने रणनीतिमा देखिन्छन् । सहकारी प्रकरणमा रवि लामिछानेमाथि छानबिन गर्न जोडदार माग गरेको कांग्रेसविरुद्ध हाल रास्वपाले गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा राजीनामा र छानबिनसहितको माग राखेर संसद् अवरोध गरिरहेको छ । दुई पटकसम्म कांग्रेसकै पहलमा भएको छलफल र वार्तामा दुवै दल आ–आफ्ना अडानमा अडिग रहँदा ती बैठक अर्थहीन बनेका छन् ।

देशको सबैभन्दा पुरानो र ठूलो दल नेपाली कांग्रेस र भर्खर जन्मेको नयाँ दल रास्वपा एकआपसमा कटु दुश्मन जस्ता देखिन्छन् । दोस्रो पटक गृहमन्त्री हुँदा रास्वपा सभापति रवि लामिछाने भुटानी शरणार्थी प्रकरणको फाइल खोल्न तम्सिएदेखि चिसिएको रास्वपा–कांग्रेसको सम्बन्ध हालसम्म पनि पानी बाराबारकै अवस्थामा छ । सहकारी प्रकरणमा रविलाई प्रतिशोधपूर्ण तवरले नेपाली कांग्रेसकै सक्रियतामा हिरासत हुँदै कारागार पठाइएको तुस बोकेर बसेको रास्वपाले, गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएपछि न्वारानदेखिको बल लगाएर लेखकलाई राजीनामा गराई छाड्ने अडानमा देखिन्छ ।
रास्वपा कांग्रेसलाई जसरी पनि झुकाउने र बदला लिने रणनीतिमा छ । कुनै समय रास्वपाका सभापति लामिछानेमाथि छानबिन हुनुपर्छ भन्दै संसद् अवरोध गरेको नेपाली कांग्रेस, आज आफ्नै गृहमन्त्री लेखकको राजीनामाको मागमा रास्वपाले संसद् अवरोध गरिरहेको अवस्थाको सामना गरिरहेको छ ।

जसमा प्रतिपक्षी दलहरूले पनि रास्वपालाई साथ दिइरहेका छन् । फलतः १४ दिनदेखि संसद्का ८ बैठक अवरुद्ध बनेको छ । रास्वपाले पाँचबुँदे माग तेर्साउँदै गृहमन्त्रीको राजीनामालाई ‘बटम लाइन’ बनाएको छ । यता, नेपाली कांग्रेस भने हिजो जन्मेका ‘आलाकाँचा’ युवाहरूसँग कुनै पनि हालतमा नझुक्ने अडानमा देखिन्छ । बरु, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लाई रिझाएर अवरुद्ध संसद् चलाउने रणनीतिमा कांग्रेस देखिन्छ । रास्वपा र कांग्रेस आ–आफ्नै अडानमा अडिग हुँदा दुई पटक कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासँग भएको छलफल र वार्ता अर्थहीन भएको छ । रास्वपाका नेता तथा सांसदहरूले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म कुनै पनि अवस्थामा संसद् चल्न नदिने अडान लिएका छन् । कुनै समय अरूलाई नैतिकताको पाठ पढाउने गृहमन्त्री लेखकले अहिले आफूमाथि प्रश्न उठ्दा हिजोको आफ्नै भनाइ बिर्सिएको भन्दै रास्वपाले लेखकको आलोचना गरिरहेको छ । उनीहरूले रास्वपालाई कसैले नबोलाई वार्तामा नजाने, कांग्रेस र एमालेले निमन्त्रणा गरेमात्र आफूहरू वार्तामा बस्ने अडान कसेका छन् ।

रास्वपाका सभापति लामिछानेविरुद्ध सहकारी प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग गर्दै सिंगो संसद् अवरोध पश्चात् अन्ततः रविलाई कारागारसम्म पु¥याएर कांग्रेसले रास्वपाको ‘हैसियत’ देखाएको थियो । जसको करिब एक वर्ष नपुग्दै कांग्रेसका तर्फबाट गृहमन्त्री बनेका लेखक भिजिट भिसा प्रकरणमा मुछिएसँगै रास्वपाले पनि लेखकको राजीनामाबिना संसद् चल्न नदिने चट्टानी अडान लिएको हो । यसलाई नेपाली कांग्रेसले रविको प्रकरणसँग जोडेर रास्वपा बदलाको भावले मात्र निर्देशित रहेको तर्क गरेको छ । हिजो लामिछाने जोडिएको सहकारी प्रकरण र हाल लेखक जोडिएको विषय एकै नभएको कांग्रेसी नेताहरूको तर्क छ । उनीहरूले जनताको मुद्दा र एजेन्डा बोल्ने थलोलाई बन्धक बनाइनु दुःखद रहेको टिप्पणी गरेका छन् ।

रास्वपाले यो प्रकरणमा गृहमन्त्री लेखक पनि जोडिएको भन्दै सदनको जारी अवरोध हटाउन ५ बुँदे प्रस्ताव अघि सारेको छ । तर, सत्तापक्ष कांग्रेस त्यो प्रस्ताव स्वीकार्न तयार छैन । रास्वपाले विगत १८ वर्षदेखि जारी ‘भिजिट भिसा’ नामक मानव बेचबिखनको सङ्गठित अपराधको प्रकरणबारे यति धेरै सूचना, जानकारी, समाचार र प्रमाण आए पश्चात् पनि चुप लागेर बस्न नसक्ने बताउँदै आएको छ । रास्वपाले गृहमन्त्रीको राजीनामा मागेका कारण सभापति लामिछानेको कारागार सरुवा प्रक्रियासमेत गृह मन्त्रालयले रोकेको आरोप लगाएको छ ।रास्वपा र कांग्रेसबीचको झगडा झन्झन् चर्किँदो क्रममा देखिन्छ । जसले गर्दा रास्वपा सजिलै गल्ने र सम्झौताको बिन्दुमा आउने अवस्था देखिँदैन ।

तर, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) केही लचक देखिँदा, माओवादीलगायतका प्रतिपक्षी दलहरूले रास्वपालाई धोका दिए रास्वपा आफ्नै अडानमा हेरेको हे¥यै हुन सक्ने पनि देखिन्छ । आरोप–प्रत्यारोपको यो दुष्चक्रमा जनताका जल्दाबल्दा मुद्दाहरू ओझेलमा परेका छन् र संसदीय प्रक्रिया नै पंगु बनेको छ । यदि दुवै दलले समयमै जिम्मेवारीबोध गरी राष्ट्रिय हितलाई केन्द्रमा राखेर समाधान नखोज्ने हो भने, यो राजनीतिक ‘टसल’मा जित कसैको पनि हुनेछैन, तर हार सिङ्गो देश र जनताको हुने निश्चित छ ।