भ्रष्टाचार जस्तो गम्भीर मुद्दामा तानिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नैतिक दबाबमा छन् । जसका कारण पार्टी नै सङ्कटमा पर्दा दुई ठूला कम्युनिष्ट दलले खेल्ने सङ्केत गरेका छन् । एकातिर शक्तिका लागि पार्टीभित्रै आन्तरिक सङ्घर्ष चल्ने खतरा छ भने, अर्काे तर्फ त्यसैको फाइदा उठाउँदै एमाले र माओवादी एकीकृत समाजवादी पार्टी नै हत्याउने दाउमा छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा लागेपछि उनी अहिले ठूलो सङ्कटमा परेका छन् । राजनीतिक जीवनको उत्तराद्र्धमा आएर भ्रष्टाचारको मुद्दा खेप्दा उनको भविष्यलाई लिएर विभिन्न टिकाटिपपणी त भइरहेका छन् नै, उनैले जन्माएको पार्टी माथि पनि कालो बादल मडारिन थालेको छ । एकीकृत समाजवादी गठन गरेको चार वर्ष पुग्नै लाग्दा उनको पार्टीको भविष्य नै अन्योलमा परेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लगाएपछि कानुनी प्रक्रिया पर्खिने र न्यायका लागि सर्वाेच्च अदालतसम्म जाने बाटो उनीमाथि खुला नै छ । तर, सांसद पदबाट निलम्बनमा परिसकेका उनी नैतिक दबावमा पर्दा पार्टी अध्यक्षबाट पनि हात धुनु पर्ने सङ्घारमा छन् । एकीकृत समाजवादीको अध्यक्षको हैसियतमा माधव भ्रष्टाचार मुद्दाविरुद्ध विशेष अदालतमा बयान दिन जाँदा उनको जीवन भरको राजनीतिक यात्रामा ठूलो नैतिक प्रश्न उठ्ने छ । त्यसो हुँदा उनीसँग अध्यक्ष पद छोड्नुको विकल्प खासै देखिँदैन । यस्तो अवस्थामा माधवको पार्टीमाथि ¥याल काडेर बसेकाहरू थुप्रै छन् । यद्यपि, अध्यक्षलाई मुद्दा पर्दैमा पार्टीमा कुनै सङ्कट नआउने एकीकृत समाजवादीका नेताहरू बताउँछन् ।
नेकपा एमालेबाट छुटिएपछि पहिलो चुनावमा १० सिटसहित सदन छिरेको माधवको पार्टी हत्याउन अन्य कम्युनिष्ट पार्टी लाग्नु स्वभाविक हो । मियो बिनाको पार्टीलाई आफैँमा समाहित गर्न पाए सदनमा थप शक्तिशाली हुने अभिलाषा अरु कम्युनिष्ट दलका नेताहरुमा देखिन्छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी हत्याउन लागि पर्दा एकीकृत समाजवादीका नेता कार्यकर्तालाई आ–आफ्नो पार्टीमा भित्र्याउन पहिलेदेखि प्रतिष्पर्धा नै चल्दै आएको छ । एमालेले विभिन्न जिल्ला कमिटी लगायत मुकुन्द न्यौपाने जस्ता नेतालाई पार्टीमा फर्काउन सफल भइसकेको छ भने माओवादीले नेकपा एसका कृष्णराज न्यौपाने लब्ली जस्ता नेतालाई पार्टीमा स्वागत गरिसकेको छ । अझै पनि पार्टी एकताका लागि प्रचण्ड निरन्तर लागी परिरहेकै छन् ।
एकीकृत समाजवादीमा बाहिरबाट मात्रै नभएर पार्टीभित्रैबाट पनि हमला हुने देखिन्छ । माधव र झलनाथ खनालबीच पहिलेदेखि नै आन्तरक द्वन्द्व हुँदा पार्टीमा अन्तरविरोधको आवाजहरू उठिरहेकै थिए । अहिले माधवको प्रकरणपछि फेरि पनि दुई धार देखिन थालिसकेको छ । माधवपछिको नेतृत्व सम्हाल्ने होडमा एकीकृत समाजवादीमा कसरत चलेको छ । पार्टीका संस्थापन पक्ष माधव निकट देखिएका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्ष बनाउनु पर्ने मनसायमा छ भने, आफूलाई संस्थापन इतरको रुपमा स्थापित गराएका सम्मानित नेता झलनाथ मौकाको फाइदा उठाउँदै नेतृत्व कब्जा गर्ने दाउमा छन् । त्यस्तै प्रेम आले, किसान श्रेष्ठ जस्ता सांसदले पार्टीबाट छुटिएको अघोषित निर्णय गरिसकेका छन् । अब पार्टी अध्यक्षमाथि नै गम्भीर मुद्दा लाग्दा नेकपा एस छाड्न नेता÷कार्यकर्ताको लाइन लाग्न सक्ने स्थिति आउने आकलन भइरहेको छ ।
भ्रष्टाचारको गम्भीर मुद्दा खेपेका माधव जो पार्टीको मियो हुन् उनी नै नभइसकेपछि नेकपा एसलाई धक्का लाग्ने निश्चित छ । अझ त्यसमा एसभित्रको अन्तरविरोधमा एमाले, माओवादीले झन् बढी खेल्ने ठाउँ पाउँदा पार्टीले अप्ठ्यारो झेल्नु पर्ने देखिन्छ । माधवलाई राजनीतिबाट पत्तासाप गराउने ओलीको मनोकांक्षा र एकताको नाममा पार्टी नै विलय गराउने प्रचण्डको चालले चार वर्षदेखि उतारचढावबीच हुर्किंदै आएको पार्टीकै भविष्यमा प्रश्न उठेको छ ।
नेपालमाथिको भ्रष्टाचार अभियोग केवल एक व्यक्तिको राजनीतिक भविष्यको सङ्कट मात्र होइन, यो उनकै नेतृत्वमा टिकेको नेकपा (एकीकृत समाजवादी) को अस्तित्वमाथिको सङ्कट पनि हो । एउटा बलियो वैचारिक जग र दोस्रो तहको सर्वमान्य नेतृत्वको अभावमा यो पार्टी अध्यक्षकै वरिपरि घुमिरहेको थियो । अब जब मियो नै हल्लिएको छ, पार्टीलाई निल्न बाहिरका शक्तिहरू (एमाले र माओवादी) र भित्रैको नेतृत्व–लोलुपताले एकैपटक च्यापिने निश्चित छ । त्यसैले, कानुनी प्रक्रियाले नेपाललाई सफाइ दिए पनि, यो प्रकरणले निम्त्याएको राजनीतिक र नैतिक क्षयीकरणले एकीकृत समाजवादीलाई विघटनको डिलमा पु¥याइसकेको छ ।
प्रतिक्रिया