पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः राजनीतिमा सक्रिय हुन थालेपछि एमालेमा तरङ्ग देखिन थालेको छ । अध्यक्ष ओली सार्वजनिक रूपमै प्रतिवादमा उत्रिन थालेका छन् भने तलसम्मै एमालेको समीकरण फेरिँदै गएको छ । जसमा भण्डारीको चीन भ्रमणले नयाँ बहस सिर्जना गर्दा के पाक्दै छ त एमालेमा ?
पार्टी फुटेपछि एकछत्र नेतृत्व गर्न पाउने एमाले अध्यक्ष केपी शर्मा ओलीको सपनामा विद्या भण्डारी तगारो बन्ने लक्षण देखिन थालेको छ । पार्टीभित्र बढ्दो उनको सक्रियता र पूर्वराष्ट्रपति राजनीतिमा फर्किन नहुने भाष्य कमजोर हुँदै गएपछि उनी दखल दिने गरी अघि बढेकी हुन् । जसमा चीन भ्रमणले अझ उत्साह थप्दा भण्डारीले ओलीको गृहजिल्लामै समेत पुगेर आफू चुप बस्ने नेता नभएको सन्देश दिन भ्याएकी छन् ।
हुन पनि उनको सक्रियताले एमालेमा अहिले माथिदेखि तलैसम्म दुई गुट बनिरहेको छ । किनभने यसअघि कोशी प्रदेशको पहिलो चरणको भ्रमणमा निस्किँदा ओली पक्षविरुद्ध विद्या भण्डारी पक्षीय गतिविधि बढेको थियो । त्यसअघि एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनका क्रममा ओली गुट र विद्या भण्डारी गुटमा दुई समूह विभाजित थिए । त्यसबेला एमालेका जनसङ्गठनमा विद्या भण्डारीले आफ्नो पकड बनाउँदै लगेको विश्लेषण भएको थियो भने त्यसमा भण्डारीले गरेको कोशी प्रदेशको दोस्रो भ्रमणले अझ बल पु¥याएको छ ।
भण्डारी अध्यक्ष ओलीको गृहजिल्ला झापामा राजनीतिक भेटघाटमा व्यस्त बनिन् भने उनी ओलीनिकट नेता, कार्यकर्तासँग पनि आन्तरिक छलफलमा बसिन् । त्यस्तै पुराना तथा अहिले राजनीतिमा निष्क्रिय नेतालाई समेत भेटेकी उनले आफ्नो सम्बन्ध पुनर्ताजगी गर्न खोजेको स्पष्ट सन्देश दिइन् । गण्डकी र लुम्बिनी प्रदेशको समेत भ्रमण सकिसकेकी उनी जहाँ पुगे पनि आफ्ना पुराना सहकर्मीदेखि पार्टीका नेताहरूसँग छलफल गर्ने र एकीकृत समाजवादीका नेताहरूलाई समेत भेट्ने गरिरहेकी छन् ।
यता पार्टीबाट निकालिएका डा. भीम रावलसमेत माओवादीदेखि एकीकृत समाजवादीका नेताहरूसँग छलफलमा थिए । जसबाट पार नलाग्ने देखिएपछि उनी अहिले जिम्मेवारी नपाएका एमालेकै नेताहरू भेटिरहेका छन् । त्यस्तै पदाधिकारी तहमै पनि भण्डारीका पक्षमा खुल्नेहरू छन् भने गोकुल बाँस्कोटाजस्ता नेताहरू समेत ओलीसँग असन्तुष्ट छन् । पूर्वी नेपालको भ्रमणको सन्दर्भमा भण्डारीसँग एमालेका प्रदेश इन्चार्ज शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रदेश सचिव राजकुमार भण्डारी र सहसचिव देवान राईजस्ता नेताहरू देखिएका छन् ।
आफ्नै गृह प्रदेशको यो दृश्य ओलीका लागि तनाव दिने खालको बन्दा पदाधिकारी तहमा माओवादीबाट आएकाहरू निर्णायक बन्ने स्थिति बनिरहेको छ । अर्कातर्फ चीनले भण्डारीलाई एमालेका शीर्ष नेताकै हैसियतमा उच्चस्तरीय स्वागत र भेटघाटको व्यवस्था गरेको थियो । जसले एमालेकै उत्तराधिकारीका रूपमा पूर्वराष्ट्रपति भण्डारीलाई चीनले महत्त्व दिएको मात्र नभई नेपालमा कम्युनिस्ट एकताको अपरिहार्यतालाई बल पु¥याएको विश्लेषकहरूको टिप्पणी छ । यसले भण्डारीको धरातल बलियो बन्दै गएको स्पष्ट हुँदा ओलीले भने यसलाई वातावरण बिथोल्ने खेलको संज्ञा दिएका छन् ।
हुन त उमेर हदका विषयले होस् वा प्रश्न उठाउनेलाई पेलेको दृश्यले होस्, ओली त्यति सजिलै नेतृत्व छाड्ने पक्षमा देखिँदैनन् । त्यही कारण भण्डारीलाई व्यवस्थापनकै लागि राष्ट्रपतिमा थन्क्याइएको विश्लेषणसमेत हुँदै आएको छ । जुन बन्धनसमेत माओवादीले भत्काइदिँदा भ्रातृ सङ्गठनमै पनि ओलीले चाहेजस्तो भइरहेको छैन । फलतः भाग माग्दासम्म शान्त बसेका उनी सक्रिय नै भएपछि भण्डारीमाथि खनिन थालेको स्पष्ट छ । तर पार्टीको आन्तरिक, राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय रूपमा समेत साझा व्यक्तित्वका रूपमा धरातल बनाउँदै गरेकी भण्डारी ओलीले चाहेजस्तै पेलिने अवस्थामा भने छैनन् । यद्यपि उनले नेतृत्वकै विकल्प खोज्छिन् वा उत्तराधिकारीका रूपमा पालो पर्खिन्छिन्, त्यसमा भने भण्डारीले स्पष्ट मुख खोलेकी छैनन् ।
प्रतिक्रिया