काठमाडौं—काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र ‘बालेन’ साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाँदाको खर्चविवरणबारे जानकारी दिन बोलाएको छ ।
२०८१ जेठ १ गते कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदा फ्रान्स भ्रमणमा जाने क्रममा सचिवालयका केही सदस्यलाई समेत कर्मचारीका रूपमा लगेको विषयमा महालेखा परीक्षकको कार्यालयलेसमेत प्रश्न उठाएको अवस्थामा अख्तियारमा उजुरी परेको थियो ।
बालेन त्यसबेला कान्स फिल्म फेस्टिभल सहभागी हुने क्रममा उक्त कार्यक्रमका निर्देशकसँग पनि संवाद गरेका थिए । उनी त्यसबेला फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा सहभागी भए । त्यसबेला उनले अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको अवलोकन पनि गरे ।
साहको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सन आयोज गरिएको थियो। बालेन २०८१ जेठ ७ गते फर्किएका थिए । त्यसबेला फ्रान्स जाँदा साहले सचिवालयका सदस्यहरू सुनिल लम्साल र कुमार व्यञ्जनकारलाई लगेका थिए । उनीहरू दुवैलाई कर्मचारी बनाएर लगेकोबारे यसअघि नै अख्तियारमा उजुरी परिसकेको छ ।
उजुरी आएपछि अख्तियारले कुमार व्यञ्जनकार (कुमार बेन), सुनील लम्साल र बालेनलाई पनि बोलाएको हो । स्रोतका अनुसार बालेनका सहयोगी कुमार र सुनील दुवैजना यस प्रकरणमा अख्तियारमा उपस्थित भएर आइसकेका छन् ।
प्रतिक्रिया