काठमाडौं—अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीमाथि कारबाही रोक्न क्यालिफोर्नियामा भइरहेको विरोध प्रदर्शनलाई नियन्त्रण गर्न सेना परिचालन गरेका छन्।
ट्रम्पले शनिबार दुई हजार नेसनल गार्ड परिचालन गर्ने निर्णय गरेका थिए। तर उनको सो निर्णयले विरोध प्रदर्शन झन् भड्किएपछि उनले सोमबार सात सय सेना र थप दुई हजार नेसनल गार्ड परिचालन गर्ने निर्णय गरेका छन्।
आप्रवासी पक्रन ट्रम्प सरकारले कार्यस्थलहरूमा छापा मारेपछि डेमोक्र्याटिक पार्टीको सरकार रहेको क्यालिफोर्नियाको मुख्य सहर लस एन्जलस लगायत ठाउँमा शुक्रबार र शनिबार सो कदमको विरोधमा जनप्रदर्शन भएको थियो। जनताले सडकमा उत्रेर ट्रम्प सरकारको आप्रवासी विरोधी नीतिको पालनामा अवरोध गरेपछि शनिबार उनले नेसनल गार्ड परिचालन गर्ने निर्णय लिएका थिए।
क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमसँग सल्लाह नगरिकनै ट्रम्पले सो राज्यमा नेसनल गार्ड परिचालन गर्ने निर्णय लिएका थिए। ट्रम्पले त्यसपछि सेना परिचालन गर्ने कदम पनि चालेका छन्। डेमोक्र्याटिक पार्टीबाट निर्वाचित न्यूसमले आफूसँग सहमति नगरी नेसनल गार्ड परिचालन गरेको भनेर ट्रम्पको कदम विरूद्ध मुद्दा हालेका छन्।
अर्को तर्फ ट्रम्पले भने उनको काममा अवरोध गर्ने क्यालिफोर्नियाका गभर्नर न्यूसमलाई गिरफ्तार गर्नुपर्ने बताएका छन्। ट्रम्पले नियुक्त गरेका सीमा मामिलाका प्रमुख टम होमनले कानुन पालना गर्ने काममा बाधा गरे डेमोक्र्याटिक पार्टीबाट निर्वाचित अधिकारीहरूलाई गिरफ्तार गर्ने बताएका थिए।
प्रतिक्रिया