काठमाडौं—चालु आर्थिक वर्षको दश महिनासम्म मुलुकमा रेमिट्यान्समार्फत १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १३.९ प्रतिशतले बढेको हो । गत वर्षको १० महिनामा रेमिट्यान्स आप्रवाह १६.९ प्रतिशतले बढेको थियो ।
२०८२ वैशाख महिनामा मात्र १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो हालसम्मकै उच्च हो । गत वर्षको सोही महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब १५ अर्ब ९९ करोड रहेको थियो ।
गएको १० महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।
सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ५ हजार ६ सय १० र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३ सय १४ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ७३ हजार ३ सय ७ र २ लाख ३६ हजार ३ सय ९८ रहेको थियो ।
प्रतिक्रिया