Breaking

जुम्लामा जमेका हृदयेन्द्र, बेल्चा समाउँदा पनि बहस : नेताका छोरालाई प्रश्न


हिन्दु राष्ट्रसहित राजसंस्था फर्काउन राजावादीहरू सडकदेखि मन्दिरमा समेत शिर झुकाउन पुगिरहेका छन् । तर, उनीहरूका ती सबै प्रयासले कुनै सार्थकता पाउन सकेको छैन । बालुवामा पानी हालेसरह नै भइरहेको अवस्थामा राजावादीहरू आफ्नो मुद्दालाई निर्णायक बनाउन चुकिरहँदा यता पूर्व नवयुवराज हृदयन्द्र शाहको रापताप भने बढिरहेको छ ।

धनाढ्य वा प्रतिष्ठित व्यक्ति र तिनका सन्तानहरू बिदा मनाउन प्रायः सिङ्गापुर, थाइल्यान्ड, इन्डोनेसिया, माल्दिभ्स लगायतका विभिन्न देशमा जाने गर्छन् । बैंकक, बाली, जकार्ता जस्ता स्थान त्यस्ता घरानाका प्रमुख गन्तव्य बन्ने गरेका छन् । तर, पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाह भने छुट्टी मनाउन आफ्नै थातथलो पुगेका छन् । अमेरिकाको बोस्टनमा स्नातकोत्तर तहको अध्ययन गरिरहेका हृदयन्द्र बिदाको सदुपयोग गर्र्न स्वदेश फर्किएका हुन् । नेपाल आगमनसँगै चर्चा बटुलिरहेका उनी जहाँ पुग्छन्, त्यहीँ नै उनको क्रेज देखिन्छ ।

चाहे त्यो नारायणहिटी दरबारभित्रको चक्रव्यूह मन्दिरमा देखिएको दृश्य होस् वा जेठ १९ गते स्वर्गीय वीरेन्द्र शाहको वंशनाश भएको सम्झनामा कमलादीस्थित गणेश मन्दिरमा गरिएको दीप प्रज्वलनमा नै किन नहोस् । अहिले हिमानी ट्रष्टले निर्माण गर्न लागेको प्रसूति गृहको शिलान्यास गर्न आमा हिमानी शाहसहित जुम्ला पुग्दा पनि उनले न्यानो माया पाएका छन् । जुम्ला विमानस्थलमा पञ्चेबाजासहित भव्य स्वागत पाएका उनले त्यहाँ गरेका प्रत्येक गतिविधिको प्रशंसा भइरहेको छ । गणतन्त्रवादी दलका नेताका सन्तानहरूले किलोका किलो सुनको तस्करी गरिरहँदा यता, दरबारको रहनसहनमा हुर्किएका हृदयन्द्रले भने मध्यदिनको तातो घाममा आफैँले बेल्चा चलाए । उनी कर्णाली जस्तो दूरदराजमा रहेको जुम्ला पुगेर मानव सेवा कार्यमा रमाइरहेका छन् ।

शिलान्यास गर्ने क्रममा नापजाँच गर्नेदेखि किला गाड्ने र माटो फाल्ने कामसमेत आफैँले गरे । नेपाल र नेपालीको शान ढाकाटोपी ढल्काएका उनले आफ्नो शीरलाई कहिल्यै खाली हुन दिएनन् । जुम्लामा कलकल बगेको चिसो पानीले आफूलाई सेचन गर्दा र आफ्नो संस्कार–परम्परालाई आत्मसात् गर्दा पनि उनको वाहवाही भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले छालाको जुत्ता लगाएरै सूर्यलाई अघ्र्य दिएको विगत हुँदा, उमेरले नाति पर्ने हृदयन्द्रले धर्म, संस्कार र परम्परालाई सम्मान गर्दै जुत्ता फुकालेर शिलान्यास गरेका थिए ।

राजघरानामा जन्मेर पनि भुइँमान्छेसरह देखिएका उनी आम नागरिकसँग मज्जाले घुलेका देखिन्छन् । नेताका छोराहरू राजामहाराजाकै ठाँटमा जीवनशैली बिताइरहँदा हृदयन्द्रको यो सरलताले राजावादीहरूलाई गणतन्त्रवादीहरूमाथि व्यङ्ग्य गर्ने मुद्दा बनेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको विगतको शासनबाट आजित भएका र पूर्वयुवराज पारस शाहको वर्तमानबाट दिक्क भएकाहरू अहिले उनीहरुका छोरा÷नाति हृदयन्द्रमा केही आश देख्छन् ।

नायिका सुरक्षा पन्तले खिसिट्युरी शैलीमा नायक बन्न दिएको सुझावसँगै उच्च राजनीतिक तहबाट भएका टिप्पणीले पनि चर्चामा आएका पूर्व नवयुवराज हृदयन्द्र शाहप्रति अधिकांशको सहानुभूति बढ्दै गएको देखिन्छ । उनको भुइँमान्छेसँग घुल्ने शैलीदेखि सालिन स्वभावलाई सबैले आत्मसात् गर्दा युवा जमातमा उनको क्रेज बढ्दो छ । पूजापाठदेखि सडक आन्दोलनसम्म राजावादीहरू थलिएको बेला स्वयम् हृदयन्द्र नै मैदानमा उत्रिँदा उनको रापताप बढेको छ । तर, अध्ययनमा नै आफूलाई केन्द्रित गरिरहेका हृदयन्द्रले अहिलेसम्म खुलेरै राजनीतिमा लाग्ने स्पष्ट नगरेको अवस्थामा, राजावादी दलहरूले उनको कार्यलाई जबर्जस्ती ‘राजा फर्काउने अभियान’ भनी भाष्य निर्माण गर्दा उनी त्यसको एउटा मोहरा मात्र बन्ने खतरा छ ।

यसका साथै संगठित राजावादी आन्दोलनहरू असफल हुँदै गर्दा हृदयन्द्र शाहको व्यक्तिगत छवि र सरल व्यवहारले आम मानिस, विशेषगरी युवाहरूमाझ एउटा मौन तर शक्तिशाली आकर्षण पैदा गरेको छ । उनको यो लोकप्रियता कुनै राजनीतिक एजेन्डाभन्दा पनि वर्तमान राजनीतिक नेतृत्व र तिनका सन्तानको शैलीप्रतिको वितृष्णाको उपज हो । यदि राजावादी शक्तिहरूले उनको यो स्वाभाविक छविलाई आफ्नो राजनीतिक स्वार्थको हतियार बनाउन खोजे भने, यो क्रेज क्षणभरमै ओझेलमा पर्न सक्छ । हृदयन्द्रको भविष्य उनको व्यक्तिगत छनोटमा भन्दा पनि उनलाई प्रयोग गर्न खोज्नेहरूको चलखेलबाट कसरी जोगिन्छन् भन्नेमा निर्भर देखिन्छ ।