Breaking

आप्रवासी र ट्रम्पको भिडन्त,आन्दोलन उग्रभएपछि सेना खटिँदै


अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा गैरकानुनी आप्रवासी पक्राउ गर्न छापा मारिएपछि प्रदर्शनकारीहरूले तेस्रो दिन पनि विरोध जारी राखेका छन् । तनाव उत्पन्न भएपछि पूर्व उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्प प्रशासनका कार्यहरू जनताको सुरक्षाका लागि नभई भयभीत बनाउन रहेको आरोप लगाएकी छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा राष्ट्रिय सुरक्षागार्डको असाधारण तैनाथीपछि लस एन्जलसमा हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसको बोयल हाइट्स र पूर्वी लस एन्जलस जस्ता आप्रवासी बाहुल्य क्षेत्रहरूमा आप्रवासी पक्राउ गर्न छापा मारिएपछि झनै तनाव उत्पन्न भएको हो । प्रदर्शन थप उग्र बन्दै गएपछि राष्ट्रपति ट्रम्पले सेना नै परिचालन गर्ने सङ्केत गरेका छन् ।

ट्रम्पले सेना खटाउन भनेपछि प्रहरीले प्रदर्शनकारीहरूलाई लस एन्जलस सहर छोड्न आह्वान गरेको छ । प्रहरीले जारी प्रदर्शनका कारण डाउनटाउन एलए अब गैरकानुनी भेला क्षेत्रमा परिणत भएको बताएको छ । ४० लाख जनसङ्ख्या रहेको लस एन्जलसमा यो प्रदर्शन सहरको केन्द्र भागमा केन्द्रित छ । प्रदर्शनका कारण सहरको व्यापारिक केन्द्रमा अधिकांश पसल तथा व्यवसायहरू बन्द भएका छन्, जसले गर्दा स्थानीय अर्थतन्त्रमा असर परेको छ । ट्रम्पको आप्रवासन नीतिविरुद्ध तीन दिनदेखि भइरहेको विरोधको यो सबैभन्दा ठूलो प्रदर्शन हो ।

केही प्रदर्शनकारीहरूले मेक्सिकोको झन्डा फहराएका छन् । उनीहरूले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गर्दै सवारी साधनहरूमा समेत आगजनी गरेका छन् । साथै केही लुटपाटका घटनाहरू पनि भएको रिपोर्ट आएका छन् । प्रदर्शनकारीहरू पक्राउ पर्ने क्रम सुरु भएपछि उनीहरू संघीय डिटेन्सन केन्द्र बाहिर जम्मा भएर नाराबाजी समेत गरेका छन् । एसीएलयू (अमेरिकन सिभिल लिबर्टिज युनियन) जस्ता मानव अधिकारवादी संस्थाहरूले पक्राउ परेकाहरूलाई कानुनी सहायता प्रदान गर्ने घोषणा गरेका छन् ।

लस एन्जलस सहरको प्रमुख १०१ फ्रिवे मार्गमा प्रदर्शनकारीहरूले अवरोध गर्दा कानुन कार्यान्वयन इकाईका सुरक्षाकर्मीहरूले उनीहरूलाई हटाउन प्रयास गरिरहेका छन् । ट्रम्पले राष्ट्रिय गार्ड पठाउने आफ्नो निर्णयको बचाउ गर्दै यसले राज्यमा कानुन र व्यवस्था कायम गर्न सक्षम हुने बताएका छन् । तर, क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले राष्ट्रपति ट्रम्पलाई सैनिक तैनाथी फिर्ता लिन आग्रह गरेका छन् । यसलाई अन्य डेमोक्र्याटिक गभर्नरहरूले शक्तिको दुरुपयोग भनेर आलोचना गरेका छन् । यस्तै, लस एन्जलसकी मेयर करेन बासले पनि शान्तिपूर्ण प्रदर्शनको अधिकारको सम्मान गर्न आग्रह गर्दै सङ्घीय सरकारको कदमले सहरमा विभाजन र भय पैदा गरेको बताएकी छन् । अमेरिकी पूर्व उपराष्ट्रपति कमला ह्यारिसले पनि ट्रम्प प्रशासनका कार्यहरू जनताको सुरक्षाका लागि नभई भयभीत बनाउने खालका भएको आरोप लगाएकी छन् । “नेसनल गार्ड परिचालन गर्नु अराजकता भड्काउने खतरनाक कदम हो, यो ट्रम्प प्रशासनको क्रूर र सुनियोजित एजेन्डाको एक हिस्सा हो, जसले त्रास र विभाजन फैलाउँछ,” ह्यारिसले भनिन् । “विरोध एउटा शक्तिशाली उपकरण हो जुन न्यायको लडाइँमा अपरिहार्य छ,” एक्समा ह्यारिसले भनेकी छन्, “हाम्रा सबैभन्दा आधारभूत अधिकार र स्वतन्त्रताको रक्षा गर्न उभिने लाखौँ अमेरिकीहरूलाई म निरन्तर समर्थन गर्छु ।”

यता ह्वाइट हाउसले नेसनल गार्ड परिचालन गर्नुपर्ने अवस्था आउनुमा हिंस्रक भीड जिम्मेवार रहेको बताउँदै आईसीई (इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट) का कर्मचारीमाथि आक्रमण भएको बताएको छ । ह्वाइट हाउसले आफूले चालेका कदमहरू अत्यन्तै जरुरी भएको बताउँदै गैरकानुनी रूपमा अमेरिकामा बसेका अपराधीहरूलाई निस्तेज पार्न र बढ्दो हिंसाबाट अमेरिकी नागरिकहरूलाई सुरक्षित राख्न यो काम जरुरी रहेको दाबी गरेको छ । शुक्रबारदेखि सुरु भएको यो विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको छ ।

दर्जनौँलाई गिरफ्तार गरिएको छ । केही प्रहरी घाइते भएका छन् । यसक्रममा एक बेलायती फोटोग्राफर गोली लागेर घाइते भएका छन् । उनको शल्यक्रिया गरिएको बीबीसीले जनाएको छ । प्रदर्शनको रिपोर्टिङका क्रममा अस्ट्रेलियाली एक रिपोर्टरलाई पनि गोली लागेको छ । यसैबीच, राष्ट्रिय गार्डका सैनिकहरू लस एन्जलसमा रहेको अवैध आप्रवासीहरूलाई पक्राउ गरेर राखिने हिरासत केन्द्रबाहिर एकत्रित भइरहेका छन् । यो आन्दोलन थप उग्र बन्दै गएको अवस्था छ ।

राजनीतिक अडान र बढ्दो हिंसाले संवादको ढोका बन्द गर्दै सहरलाई रणभूमिमा परिणत गरेको छ । एकातिर ‘कानुन र व्यवस्था’को दाबी र अर्कोतिर ‘भय र विभाजन’को आरोपबीच पिसिएको यो आन्दोलनले अमेरिकी समाजको गहिरो दरार र अनिश्चित भविष्यलाई उजागर गरेको छ। राष्ट्रपति ट्रम्पका आप्रवासीविरुद्धको कडा नीतिले अमेरिकालाई साच्चै नै सुरक्षित र सही व्यवस्थापन गर्छ भन्नेमा निश्चिन्त हुन सक्ने अवस्था छैन । यद्यपि, यसले पार्ने प्रभाव र नतिजा कस्तो हुन्छ ? त्यो भने हेर्न बाँकी छ ।