काठमाडौं—नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुको जारी २४ औं राष्ट्रिय महाधिवेशनमा आजबाट नेतृत्व चयन प्रक्रिया सुरू हुने भएको छ।
अनेरास्ववियुको महाधिवेशन आइतबारबाट त्रिवि स्मृति भवनका सुरू भएको हो। उद्घाटन सत्र सकिएलगत्तै स्मृति भवनमै बन्द सत्र सुरू भएको थियो। जारी महाधिवेशनमा अध्यक्ष मण्डल गठन भइ राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत भइसकेका छन्।
यी प्रतिवेदनहरूमाथि छलफल गर्न १० वटा समूह बनाइएको निवर्तमान अध्यक्ष समिक बडालले जानकारी दिनुभयो । प्रतिवेदनहरू पारित भएलगत्तै नेतृत्व चयनको प्रक्रिया सुरू हुने उहाँले बताउनुभयो । अनेरास्ववियुमा यसपटकदेखि ३२ वर्षे उमेरहद लाग्दैछ।
उमेरहद लाग्दा निवर्तमान कमिटीका १७ पदाधिकारी र तीन आयोग प्रमुखमध्ये १५ जना बाहिरिनेछन्। पाँच जना सचिव मात्रै बाँकी रहनेछन्। सचिवहरू प्रकाश पौडेल, दीपक धामी, डा. सुजन कडरिया, अञ्जना शिवाकोटी र आरती भट्टराई मात्रै बाँकी रहन्छन्।उनीमध्येलाई नै अध्यक्ष बनाउने तयारी भइरहेको छ।
अहिले पाँचै जनाले अध्यक्षको आकांक्षा राखेको अनेरास्ववियुका प्रतिनिधिहरूले बताएका छन्।अधिवेशनबाट एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र चार सचिवसहित १५१ सदस्यीय कमिटी निर्वाचित हुनेछ।
प्रतिक्रिया