काठमाडौं—निलम्बित सांसदको संख्या ४ पुगेको छ । २७५ सदस्यीय प्रतिनिधि सभाका ४ सांसद निलम्बनमा रहँदा अर्का १ जना फरार रहेका छन् । बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ ।
पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको सांसद पद् स्वतः निलम्बनमा परेको छ । योसँगै ४ मंसिर २०७९ मा सम्पन्न चुनावबाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्यहरूमध्ये ४ जना सांसद निलम्बनको अवस्थामा रहन पुगेका हुन् ।
नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेत १ जेठ २०८२ देखि निलम्बनमा छन् । टेरामक्स प्रकरणमा संलग्न रहेको आरोपमा बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेसँगै उनको सांसद पद् स्वतः निलम्बनमा परेको हो ।
बस्नेत सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद हुन् । सांसदहरू रवि लामिछाने र टोपबहादुर रायमाझी निलम्बनमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछाने सम्पति शुद्धीकरणको मुद्दा दर्ता भएसँगै उनी निलम्बनमा परेका हुन् ।
लामिछाने ८ पुस २०८१ देखि निलम्बनमा छन् । उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद् हुन् । नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा छन् । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका छन् ।
सहकारीको बचत अनियमितताको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेत एक वर्षदेखि फरार छिन् । बस्नेतविरुद्ध १४ वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता उनी फरार छिन् ।
प्रतिक्रिया