समाचार

बेथानचोकमा बस दुर्घटना हुँदा १ को मृत्यु, ३ जना घाइते


काठमाडौं—काभ्रेको बेथानचोकमा बुधबार बस दुर्घटना हुँदा १ को मृत्यु, ३ जना घाइते भएका छन् । पनौतीबाट बेथानचोक गाउँपालिका–६ भुग्देउका लागि छुटेको बा ३ ख ४४३५ नम्बरको बस बुधबार साँझ ५ बजेतिर दर्केखोला नजिकै सडकबाट करिब ५० मिटर तल खसेको हो ।

एक महिलाको घटनास्थलमै मृत्यु भएको र चालकसहित ३ जना घाइते भएको बेथानचोक–६ का वडाध्यक्ष विष्णु लामाले जानकारी दिए । उनले मृतकको पहिचान खुलिनसकेको बताए ।

जिल्ला प्रहरी कार्यालयले टोली घटनास्थल तर्फ गइरहेको जनाएको छ । स्थानीयका अनुसार बसमा चालकसहित ७ जना सवार थिए । घाइतेहरुलाई स्थानीय स्वास्थ्य चौकीमा लगिएको वडाध्यक्ष लामा जनाए ।