राजावादी नेताहरुले आन्दोलन नछाडेसम्म पीएसओ (अंगरक्षक) नपाउने भएका छन् ।
राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित आन्दोलन थालेपछि सरकारले राजावादी नेताहरुको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फिर्ता गरेको थियो । बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था सुशासन समितिको बैठकमा राप्रपा नेता बुद्धिमान तामाङले अंगरक्षक फिर्ता बोलाउनुपर्नाको कारणबारे गृहमन्त्री रमेश लेखकलाई सोधेका थिए । त्यसपछि मन्त्री रमेश लेखकले राजावादीहरुको आन्दोलन रोकिए नेताहरुको अंगरक्षक पुनः खटाइने बताए ।
मन्त्री लेखकले भने, ‘हजुरहरुले गर्ने घटनामा सुरक्षा बढ्ता चाहियो, ती सुरक्षाकर्मीहरुलाई तत्कालका लागि यता सुरक्षा दिन राखिएको हो । यी घटनाहरु भएनन् भने सुरक्षा पुनः स्थापित गरिन्छ ।’ केही दिनअघि राप्रपा नेताहरु ध्रुवबहादुर प्रधान, दीपक सिंह र ज्ञानबहादुर शाहीका अंगरक्षक फिर्ता भएको सो पार्टीकै नेताहरुले बताएका थिए । त्यतिबेला प्रहरी प्रधान कार्यालयका अधिकृतहरुले राजावादीहरुको आन्दोलनको ब्रिफिङका लागि पीएसओलाई बोलाइएको बताएका थिए ।
तर अहिलेसम्म पीएसओ राप्रपाका नेताहरुमा पुनः खटिएका छैनन् । गृहमन्त्री लेखकले आन्दोलनमा सुरक्षा दिनुपर्ने भएकाले व्यक्तिगत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाउनुपरेको बताए । उनले गणतन्त्र, संघीयता र लोकतन्त्रबाट पछि फर्किन नसकिने भन्दै संविधानका आधारभूत व्यवस्था उल्ट्याउने र संविधान नै फाल्ने काममा कोही पनि नलाग्न चेतावनी पनि दिए ।
‘
प्रतिक्रिया