राजनीति

क्रिकेटमा नेपालको संघर्ष, करणको जादुले विश्वकप लिग–२ मा पहिलो जित


तल्लोक्रमका ब्याटर करण केसी नायक बन्दा नेपालले यस वर्षको आईसीसी क्रिकेट विश्वकप लिग २ मा पहिलो जित हात पारेको छ । सोमबार राति सम्पन्न खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो ।

विदेशी भूमिमा नेपाली क्रिकेट टोलीले अपेक्षा अनुसार ब्याटिङ गर्न नसकेको आरोप लाग्दै आएको थियो । विशेषगरी तीव्र गतिका बलरलाई मद्दत गर्ने ‘स्विङ एन्ड बाउन्स’ युक्त पिचमा नेपाली ब्याटरहरू संघर्षरत देखिन्थे । तर, यस पटक आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपाली क्रिकेटरहरूले उत्कृष्ट प्रदर्शन गर्दै आयोजक राष्ट्रमाथि नै विजयको झण्डा फहराए । यो खेल सामान्य थिएन । स्कटल्यान्डले प्रस्तुत गरेको २९७ रनको विशाल लक्ष्य नेपालले १ बल बाँकी छँदै ९ विकेट गुमाएर पूरा ग¥यो । यस जितसँगै नेपालले यस वर्षको लिग २ मा पहिलो सफलता हात पारेको हो । डन्डीस्थित फोर्थहिलमा करण केसीले अविजित ६५ रनको महत्वपूर्ण पारी खेल्दै नेपाललाई अविश्वसनीय जित दिलाए ।

अन्तिम दुई ओभरमा नेपाललाई जितका लागि २५ रन आवश्यक थियो । करणले ४९औं ओभरमा साफयान सरिफलाई एक छक्का र दुई चौकासहित १८ रन प्रहार गरेपछि अन्तिम ओभरमा नेपाललाई ७ रन चाहिएको थियो । तर, अन्तिम ओभरको पहिलो बलमा सन्दीप लामिछाने आउट भए । दोस्रो बल वाइड भयो । त्यसपछि आएका रिजन ढकालले तेस्रो बलमा १ रन जोडेर करणलाई स्ट्राइक दिए । करणले चौथो र पाँचौ बलमा २–२ रन जोडे । रोमाञ्चक मोडमा अन्तिम बल वाइड भएपछि नेपालले विशाल लक्ष्य सफलतापूर्वक पछ्यायो । प्लेयर अफ द म्याच घोषित करणले ४१ बलमा ३ चौका र ४ छक्कासहित अविजित ६५ रन बनाए । लिग २ का १३ खेलमा नेपालको यो तेस्रो जित हो ।

यसअघि, ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई उत्कृष्ट सुरुआत दिलाउँदै पहिलो विकेटका लागि १२ ओभरमा ७२ रनको साझेदारी गरेका थिए । आसिफ ३३ बलमा २ चौकासहित २० रन बनाएर जेस्पर डेभिडसनको बलमा आउट भए । त्यसको केही बेरमै ४१ बलमा अर्धशतक पूरा गरेका कुशल पनि ४४ बलमा ११ चौकासहित ५३ रन बनाएर पेभेलियन फर्किए । तेस्रो विकेटका लागि भीम सार्की र कप्तान रोहित पौडेलले ७४ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाली इनिङ्सलाई अघि बढाए । भीमले ४८ बलमा ३ चौकासहित ४० तथा रोहितले ५६ बलमा १ चौकासहित ३७ रन जोडे । यी दुवैलाई ब्रान्डन म्याकमुलेनले १० बलको अन्तरमा आउट गरे । म्याकमुलेनले दीपेन्द्रसिंह ऐरीलाई पनि ८ रनमा आफ्नो सिकार बनाए । उनले १० ओभरमा २ मेडन राख्दै ४७ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी १ रनमै सीमित भए ।

त्यसपछि गुलशन झा र करण केसीले सातौँ विकेटका लागि ३७ बलमा अर्धशतकीय साझेदारी खेले । उनीहरुले ४४ बलमा ५४ रन जोड्दै नेपालको आशा जीवितै राखे । गुलशनले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४२ रनको योगदान दिए । यसअघि, टस जितेर फिल्डिङ रोजेको नेपालविरुद्ध स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रनको योगफल तयार पारेको थियो । नेपालका लागि यो जित धेरै अर्थमा महत्वपूर्ण छ । यसलाई ऐतिहासिक, रोमाञ्चक र अविस्मरणीय जे भन्दा पनि अत्युक्ति हुँदैन । नेपालले विदेशी भूमिमा अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य सफलतापूर्वक पछ्याएको हो । यो जितको महत्व यतिमा मात्र सीमित छैन । लिग २ मा कठिन अवस्थामा रहेको नेपालले यसअघिका १२ खेलमा केवल दुई जित निकालेको थियो । एकदिवसीय (ओडीआई) मान्यतासमेत संकटमा परेको अवस्थामा यो शृंखला नेपालको भाग्य निर्धारण गर्न महत्वपूर्ण साबित हुन सक्छ । स्कटल्यान्ड र नेदरल्यान्ड्सजस्ता बलिया प्रतिद्वन्द्वी सम्मिलित यो शृंखला लिग २ मा नेपालका लागि सर्वाधिक कठिनमध्ये एक मानिएको छ । यो शृंखला, जुन २०२५ जुन २ देखि १२ तारिखसम्म डन्डीमा आयोजना हुने तालिका रहेको छ ।

२०२४–२६ विश्वकप लिग २ को तेस्रो चरण हो । यस त्रिकोणात्मक सिरिजमा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सले एक अर्कासँग एकदिवसीय अन्तर्राष्ट्रिय खेलहरू खेल्नेछन् । नेपालले दोस्रो खेल जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग, तेस्रो खेल जुन ८ तारिखमा स्कटल्यान्डसँग र चौथो खेल जुन १० तारिखमा नेदरल्यान्ड्ससँग खेल्ने कार्यक्रम छ । यो जितले नेपाली क्रिकेटमा नयाँ ऊर्जा सञ्चार गरेको छ ।

कठिन परिस्थितिबाट पुनरागमन गर्दै प्राप्त यो सफलताले खेलाडीहरूको मनोबल उच्च बनाएको मात्र छैन, ओडीआई मान्यता जोगाउने अभियानमा महत्वपूर्ण टेवा पु¥याएको छ । करण केसीको अविस्मरणीय प्रदर्शनले ‘असम्भव केही छैन’ भन्ने सन्देश दिएको छ । तर यो लयलाई निरन्तरता दिँदै आगामी चुनौतीहरूको सामना गर्नु नेपाली टोलीका लागि अनिवार्य छ । यो विजय नेपाली क्रिकेटको एक गौरवपूर्ण अध्याय हो, जसले भविष्यका लागि आशा र प्रेरणा दुवै प्रदान गरेको छ ।