काठमाडौं—संघीय सरकारसँग संवादको प्रक्रियामा रहे पनि सार्वजनिक यातायात व्यवसायीहरूको आन्दोलन तत्काल स्थगित नहुने भएको छ। सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिले आन्दोलन यथावत् रहने स्पष्ट गर्दै देशभरका सवारी साधन ग्यारेजमै थन्क्याउने कार्यक्रम निरन्तर चलिरहेकाले भ्रममा नपर्न व्यवसायी, मजदुर, स्वरोजगार र कर्मचारीहरूलाई आग्रह गरेको छ।
समितिका अध्यक्ष विजयबहादुर स्वारले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा केही सञ्चारमाध्यममार्फत भ्रमपूर्ण समाचार सम्प्रेषण गरेर आन्दोलन कमजोर पार्ने प्रयास भइरहेको भन्दै खण्डन गरिएको छ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धी नियमावली जारी गरेपछि सार्वजनिक यातायात क्षेत्रका यातायात व्यवसायी आन्दोलित भएका हुन् । सार्वजनिक यातायात क्षेत्रमा देखिएको नीति, कर, बीमा र प्रशासनिक प्रक्रियामा असहजता लगायतका समस्या समाधान नहुँदा व्यवसायीहरू असन्तुष्ट हुँदै आएका थिए। त्यसकै प्रतिक्रिया स्वरूप सङ्घर्ष समितिले चरणबद्ध आन्दोलनको घोषणा गरेको हो।
प्रतिक्रिया