Breaking

युनुस चीनको बलमा मोदीसँग भिड्नै तम्सिए


बंगलादेशमा शेख हसिनाको सरकार ढलेपछि छिमेकी राष्ट्र भारतसँग चिसिएको सम्बन्ध पछिल्लो समय झनै तनावपूर्ण बन्दै गएको छ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसको चीनसँगको बढ्दो निकटता र सहकार्यले भारतसँगको सम्बन्ध भने तनावपूर्ण बन्दै गएको हो ।

बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुस पछिल्लो समय चीनसँगको सम्बन्ध विस्तारमा केन्द्रित हुन थालेका छन् । चीनसँग निकटता बढाउँदै सहकार्य र चिनिया लगानी भित्र्याउन उनको दौडधुप बढेको छ । केही दिनअघि मात्रै चीन भ्रमणमा गएका युनुसले मजबुद व्यापार र चीनसँगको सहकार्यबाट बंगलादेशलाई फाइदा पुग्ने विश्लेषण नै गरेका थिए । चीन भ्रमणमा रहँदा चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वासँगको विशेष अन्तर्वार्तामा उनले भनेका थिए ‘हाम्रो सम्बन्ध वर्षौंदेखि बलियो छ । व्यापार मजबुत छ र चीनसँगको सहकार्यबाट हामीलाई फाइदा पुग्छ ।’ उनले दुई देशबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गर्ने अपेक्षा गरे । ‘चीनको प्रगतिबाट बंगलादेशमा सबैजना प्रेरित छन्,’ युनुसले भनेका छन् ।

उनले अन्तरिम सरकारको लक्ष्य नयाँ बंगलादेश बनाउनु भएको उल्लेख गर्दै चीनको विकास अनुभवबाट सिक्न सकिने बताएका छन् । चीनको गरिबी निवारणबारे उनले भने, ‘धेरै देश जीडीपी बढाउनमा केन्द्रित हुन्छन्, तर चीनले कम आय भएका समूहमा ध्यान दिएको छ, जसले गरिबी छिटो घटाउन सफलता मिल्यो ।’ यति मात्रै होइन उनले चीन भ्रमणका क्रममा चिनिया कम्पनीहरूलाई टिस्टा नदी परियोजनामा सहभागी हुन आह्वान पनि गरेका छन् । यो कदमलाई धेरै विश्लेषकले भारतका लागि झट्का मानेका छन् । टिस्टा परियोजना लामो समयदेखि भारत र बंगलादेशबीच विवादको विषय बनेको छ ।

गत वर्ष अगस्टमा शेख हसिनाको सरकार पतनपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएको छ । बंगलादेश र चीनबीचको व्यापार र आर्थिक सहयोग पछिल्ला वर्षमा निकै बढेको छ । चीन १५ वर्षदेखि बंगलादेशको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । हाल बंगलादेशमा करिब एक हजार चिनियाँ उद्योग छन्, जसले झण्डै ६ लाख रोजगारी सिर्जना गरेका छन् । युनुसले ‘चीनबाट आयात बढिरहेको पनि बताएका छन् । औद्योगिक सामग्रीको ठूलो हिस्सा चीनबाटै आउँछ,’ युनुसले भने, ‘म चाहन्छु कि धेरै चिनियाँ लगानीकर्ता बंगलादेश आएर स्थानीय साझेदारसँग बजार विस्तार गरून् ।’ हालै बंगलादेशी बिरामी, डाक्टर र ट्राभल एजेन्सीको समूह चिकित्सा पर्यटनका लागि चीनको युनान प्रान्तको कुनमिङ गएको थियो । ‘चीनबाट सिकेर हामी राम्रो स्वास्थ्य सेवा बनाउन सक्छौं’ उनले थपे ।

यो वर्ष चीन र बंगलादेशबीच कूटनीतिक सम्बन्धको ५० औं वार्षिकोत्सव हो । ‘चीनसँगको सहकार्यले हामीलाई फाइदा पुग्छ । हामी द्रुत विकास हुने मात्र होइन, सबैको सहभागिता भएको नयाँ अर्थतन्त्र पनि बनाउन सक्छौं,’ उनले भने, ‘हाम्रो सहकार्य अर्थतन्त्रमा मात्र सीमित नभई सांस्कृतिक पनि हुनेछ । विगत ५० वर्षको सम्बन्ध रोमाञ्चक रह्यो, आगामी ५० वर्ष झन् रोमाञ्चक हुनेछ ।’ चीनसँग विभिन्न क्षेत्रमा सहयोगको अपेक्षा गरेका उनले साझा लक्ष्य हासिल गर्न सँगै यात्रा गर्न चाहेको उल्लेखसमेत गरे । यो भनाइ उनले चीनमा मात्रै होइन आइतबार ढाकामा भएको लगानी तथा व्यापार सम्बन्धी चीन–बंगलादेश सम्मेलनमा पनि उनले चिनियाँ लगानीकर्ताहरूलाई बंगलादेशमा रहेका अवसरहरूको फाइदा उठाउन आग्रह गरेका थिए ।

जसरी चिनिया लगानीकर्ताहरूले दक्षिण एसियाका धेरै देशहरूको अर्थतन्त्रलाई रूपान्तरण गरेका छन्, त्यसरी नै बंगलादेशमा पनि त्यस्तै हुने आशा युनुसको छ । भारतले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई आफ्नो देशमा शरण दिएदेखि दुई देशबीचको सम्बन्ध चिसिँदै गएको छ । सन् २०२४ को अगस्टमा बंगलादेशमा विद्यार्थीले चर्काएको आन्दोलनका कारण हसिना भागेर भारतको शरणमा गएकी थिइन् । बंगलादेशको नयाँ अन्तरिम सरकारले उनलाई सुपुर्दगी गर्न भारतलाई आग्रह गरे पनि नयाँ दिल्लीले मानेको छैन । शेख हसिना भारतपरस्त नेतृका रूपमा चिनिन्छिन् । यसैबीच बिग्रिएको भारत र बंगलादेशको राजनीतिक सम्बन्धको असर व्यापारिक सम्बन्धमा पनि देखिन थालेको छ ।