Breaking

कमल थापालाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगियो, आज नछाड्ने प्रहरीको संकेत

योहो संवाददाता

काठमाडौं— राजावादी आन्दोलनका क्रममा पक्राउ गरिएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको छ । उनलाई आज नछाड्ने संकेत प्रहरीले गरेको परिवारजनले बताएका छन् । नारायणचौरमा भएको राजसंस्था पक्षधरको आन्दोलनबाट थापासहित ६ जनालाई पक्राउ गरिएको थियो । उनीहरुलाई भद्रकालीस्थित परिसरमा राखिएको छ । थापालाई ल्याइनासाथ परिवार र आफन्तहरु भेट्न आएका थिए ।

तर, उनीहरुलाई परिसरभित्र प्रवेश गर्न दिइएन । यसक्रममा कमल थापाका भाइ अभिषेक थापाले प्रहरीसँग आपत्ति जनाएपछि वादविवाद भएको थियो । थापाले परिसरमा आफूहरुलाई भेट्न नदिइनु आपत्तिजनक रहेको बताए । उनले वीर अस्पतालमा लगेपछि मात्रै ठुलोबुवासँग कुरा गर्न पाएको जानकारी दिए ।

हिरासत लगेको एक घन्टापछि थापालाई अस्पताल लगिएको हो । अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात उनलाई फेरि परिसर फर्काइएको छ । प्रहरी स्रोतले थापालाई आज म्याद थप गर्ने वा नगर्नेबारे निर्णय नभइसकेको बतायो । हिरासतमा राख्नुपर्ने अवस्थामा स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले अस्पताल लगिएको स्रोतको भनाइ छ । परिवारलाई भेट्न नदिने नीति नरहेको पनि स्रोतले बताएको छ ।