काठमाडौं—निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित ५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, नारायणचौरबाट प्रर्दशनमा निस्किएको राजावादीहरूको समूह बालुवाटारमा प्रहरीले राखेको ब्यारियर तोडेर अघि बढ्न खोजेपछि थापासहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।
उनका अनुसार, पक्राउ परेका सबैलाई अहिले जिल्ला प्रहरी परिसर, भद्रकाली ल्याइँदैछ । गत १५ जेठबाट प्रदर्शन सुरु गरेका राजावादीले आज पनि नारायणचौरबाट आन्दोलन सुरु गरेका थिए । राजसंस्था पुनस्थापना र हिन्दु राज्यसहितको माग राखेर भइरहेको प्रदर्शन हिजो बालुवाटार नजिकै पुगेको थियो ।
आज पनि नारायणचौरबाट राजावादीको प्रदर्शन बालुवाटारतर्फ जाँदै थियो । सो क्रममा राजावादीहरू उग्र हुँदै निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेको प्रहरीको दाबी छ । प्रधानमन्त्री, सभामुख लगायतको सरकारी निवास रहेको बालुवाटार क्षेत्रलाई सरकारले यसअघि नै निषेधित क्षेत्र घोषणा गरेको थियो ।
प्रतिक्रिया