काठमाडौं । राजा त्रिभुवनले विदेशी नागरिकलाई नेपाल आउन र नेपाली उत्पादन विदेश लैजान सहज होस् भन्ने उद्देश्यले निर्माण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाल तस्करहरूका लागि सुन र मानव ओसारपसार गर्ने प्रमुख केन्द्र बनेको छ ।
राजतन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा, नेपालको यो पहिलो र पुरानो अन्तर्राष्ट्रिय विमानस्थल क्रमशः तस्करीको सुरक्षित मार्ग बन्दै गएको देखिन्छ । यो विमानस्थल मूर्ति तस्करी, सुन तस्करी हुँदै मानव तस्करीसम्मको द्वार बनेको छ, जहाँ भन्सार कर्मचारी र तस्करहरूको मिलेमतोमा सुन तस्करी गुपचुपमा हुने र मानव तस्करी भने खुलेआम भइरहेको तथ्य बाहिरिएको छ । पछिल्लो समय त्रिभुवन विमानस्थल हुँदै दैनिक चार सयभन्दा बढी युवाहरूलाई ‘भिजिट भिसा’को नाममा चर्को रकम असुल गरी खाडी र युरोपेली देशहरूमा पठाउने गरेको रहस्य खुलेपछि विमानस्थल भित्रको कालो कर्तुत छताछुल्ल भएको छ ।
यसैकारण अध्यागमन कार्यालयका प्रमुखसहित अन्य कर्मचारीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको दायरामा तानिएका छन् । मानव तस्करहरूको सञ्जाल गृहमन्त्री रमेश लेखकको सचिवालयसम्म जोडिएको अनुसन्धानमा खुल्दै गएपछि उनले आफ्नो सचिवालयमा हेरफेर गरेका छन् । लेखकमाथि पनि विभिन्न प्रश्नहरू तेर्सिएसँगै उनले आफू मानव तस्करीमा जोडिएको प्रमाणित भए राजनीतिबाटै राजीनामा दिने घोषणासमेत गरेका छन् । तर, प्रतिपक्षी दलहरूले भने गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिएर आफूमाथि निष्पक्ष अनुसन्धानका लागि मार्गप्रशस्त गर्न माग गरिरहेका छन् ।
नेपालकै व्यस्त र पुरानो अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा राम्रो कमाइ हुने भएकाले कर्मचारीहरूको पहिलो रोजाइमा पर्ने गरेको छ । त्यहाँ नेता र मन्त्रीहरूसँगको सेटिङमा मोटो रकम बुझाएर राम्रो कमाइ हुने प्रलोभनमा भन्सारमा सरुवा हुन तँछाडमछाड हुने गरेको आरोप लाग्ने गर्छ । दुई तिहाइको सरकार बनेसँगै गृहमन्त्री लेखकको छत्रछायाँमा सहसचिव तीर्थराज भट्टराईले अध्यागमन विभागको प्रमुखको पद सम्हालेका थिए ।
उनले दैनिक ५० लाख बराबरको रकम गृह मन्त्रालयलाई बुझाउने गरेको आशंकाका आधारमा उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।त्रिभुवन विमानस्थलमा नेपाल प्रहरी परिचालन भए पनि उनीहरूको हैसियत र जिम्मेवारी सामान्य सुरक्षा गार्ड सरह मात्र हुने गरेको छ । विमानस्थल प्रहरीले तस्करलाई पक्राउ गरे पनि मुद्दा चलाउने अधिकार उनीहरूसँग हुँदैन ।
यस्तो अवस्थामा विमानस्थलमा छुट्टै भन्सारका कर्मचारी खटाइएको हुन्छ, जससँग सामान ओसारपसारदेखि यात्रुको सम्पूर्ण विवरण जाँच गर्ने अधिकार हुन्छ ।
(बाकि भिडियोसहित)
प्रतिक्रिया