Breaking

गृहमन्त्री हटाउने रास्वपाको मिसन, पीडित नै झिकाउने सोबिता र मनिषको तयारी (भिडियो)


काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर लगातार संसद अवरोध गरे पनि बजेट ल्याउने संवैधानिक प्रक्रियालाई नरोकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि यो मुद्दालाई कुनै पनि हालतमा निष्कर्षमा पुर्याउनुपर्ने दबाब छ । फलस्वरूप, रास्वपाले सदन चल्न नदिने, गृहमन्त्री रमेश लेखकमाथि छानबिन गराई राजीनामा दिन बाध्य पारेर मात्र यो मुद्दालाई किनारा लगाउने रणनीति लिएको देखिन्छ ।

आफूले उठाएको मुद्दालाई सफल पार्न र शक्तिशाली सरकारलाई झुकाउन रास्वपाका सांसदहरू सोविता गौतम, मनिष झा, सुमना श्रेष्ठ र हरि ढकाल लगायतका व्यक्तिहरू आक्रामक रूपमा प्रस्तुत भएका छन् । पीडितहरूबाट प्रमाण जुटाउने क्रममा रास्वपा सांसदहरूलाई पीडितहरूले पनि साथ दिएका छन् ।

रास्वपाले २४ घण्टामै ठगीसम्बन्धी करिब एक हजार प्रमाण संकलन भएको दाबी गरेको छ । यद्यपि, उक्त प्रमाण थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने तयारी रास्वपाले गरिरहेको छ । पीडितहरूको साथले हौसिएको रास्वपा, राज्यबाट भएको भनिएको बदमासीका प्रमाणहरू प्रस्तुत गर्दै, पार्टी सभापति रवि लामिछानेमाथि राज्यले गरेको ज्यादतीको बदला लिन चाहन्छ ।

रास्वपाले भिजिट भिसा प्रकरणको मुद्दालाई सफल पार्न पीडितहरूसँग मात्र नभई अन्य विपक्षी दलहरूसँग पनि सहयोगका लागि आग्रह गरिरहेको छ । हालसम्म माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको साथले रास्वपालाई सदनमा बल मिलेको छ । रास्वपाको मुद्दालाई समर्थन गरेको माओवादी केन्द्रका लागि पनि भिजिट भिसा प्रकरण एक राजनीतिक मसला बनेको छ ।

पटक–पटक दुई ठूला दल कांग्रेस र एमालेबीचको समीकरणमा फाटो ल्याउन असफल भएको माओवादी, यो मुद्दालाई उचालेर सत्ता समीकरणमा ढाक्सा थाप्न खोजिरहेको देखिन्छ । माओवादीको समर्थनमा पूर्ण रूपमा ढुक्क हुन नसकेको रास्वपा, यदि गृहमन्त्रीको मुद्दामा माओवादीले सत्तारुढ दलसँग सम्झौता गरेमा, जनताको मुद्दामा एक्लै भए पनि लडेर यसलाई निष्कर्षमा पुर्याउने रणनीतिमा देखिन्छ ।

भिजिट भिसा प्रकरण चर्किएसँगै गृहमन्त्री लेखक हाल चिन्तित र उदास देखिन्छन् । नैतिकताको प्रश्न उठेपछि उनले राजीनामा दिएर मार्गप्रशस्त गर्न खोजेको पनि बताइन्छ । तर, उनको राजीनामाले सत्ता समीकरण नै परिवर्तन हुन सक्ने डरले शीर्ष नेताहरूबाट उनलाई राजीनामा नदिन दबाब परेको थियो ।

(बाकि भिडियोसहित)