काठमाडौँ । नेपाली सञ्चार जगतमा एक विशिष्ट पहिचान स्थापित गरेको योहो टेलिभिजन एचडीले आज आफ्नो गौरवमय सातौँ वार्षिकोत्सव मनाउँदै छ ।
गणतन्त्र दिवसको अवसरमा, वि.सं. २०७६ जेठ १५ गते नेपालको पाँचौँ एचडी टेलिभिजनको रूपमा आफ्नो प्रसारण यात्रा प्रारम्भ गरेको योहो टेलिभिजन आठौँ वर्षमा सफलतापूर्वक पदार्पण गरेको छ । स्थापनाकालदेखि नै सीमान्तकृत एवं भुइँमान्छेका स्वरलाई प्रखर रूपमा मुखरित गर्दै, समाजमा व्याप्त विकृति, विसंगति तथा भ्रष्टाचारविरुद्ध निरन्तर आवाज बुलन्द गर्दै आएको यस टेलिभिजनले सत्य, तथ्य र निष्पक्षताको सिद्धान्तलाई आफ्नो मूल मन्त्र बनाएको छ ।
नेपाली टेलिभिजनको जगतमा एक पृथक् एवं प्रभावकारी सञ्चारमाध्यमको रूपमा आफूलाई स्थापित गर्न सफल भएकोमा टेलिभिजन परिवारले गौरव महसुस गरेको छ । समाजका हरेक विधा र वर्गका दर्शकहरूको साझा चौतारी बन्ने अभिप्रायले योहो टेलिभिजनले आफ्नो सामाजिक उत्तरदायित्वलाई सदैव उच्च प्राथमिकतामा राखेको छ । यस ऐतिहासिक वार्षिकोत्सवको पुनीत अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले राष्ट्र, राष्ट्रियता, भावनात्मक एकता, सार्वभौमिकता र नेपालको अखण्डतालाई अक्षुण्ण राख्न तथा सम्बद्र्धन गर्न टेलिभिजनले आफ्नो भूमिकालाई अझ सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले दर्शक महानुभावहरूबाट प्राप्त अगाध स्नेह र विश्वासलाई जीवन्त राख्दै भविष्यमा अझ परिष्कृत, जनमुखी तथा खोजमूलक सामग्रीहरू प्रस्तुत गर्ने दृढ संकल्प व्यक्त गर्नुभएको छ । अध्यक्ष शेर्पाले पत्रकारिताको मूल मर्म र आदर्शलाई आत्मसात् गर्दै संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण एवं संवद्र्धनका निम्ति निरन्तर खबरदारी गर्ने र आफ्नो कलम यात्रालाई थप ऊर्जावान् बनाउने दृढतासमेत प्रकट गर्नुभयो ।
साथै अध्यक्ष शेर्पाले टेलिभिजनको यो सात वर्षे यात्रामा निरन्तर साथ, सहयोग र सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण दर्शक, विज्ञापनदाता, शुभचिन्तक तथा सहकर्मीहरूप्रति कृतज्ञता ज्ञापन गर्नुभएको छ ।
प्रतिक्रिया