राजनीति

आज एमाले र राजावादीको प्रदर्शन, दुबै पक्षलाई प्रदर्शन गर्न छुट्टाछुट्टै समय तोकियो


काठमाडौँ । गणतन्त्र दिवसका दिन आज सत्तारुढ नेकपा एमाले र राजावादी समूहले प्रदर्शन गर्दै छन्। एमालेले गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ भने राजावादीहरूले गणतन्त्रको विरुद्ध प्रदर्शन गर्न लागेका हुन् ।

दुवै पक्षले एकै पटक र स्थानमा प्रदर्शन गर्न लागेको हुँदा स्थानीय प्रशासनले दुवैलाई अलग अलग समय तोकिदिएको छ । एमालेले रत्नपार्कमा कार्यक्रम गरिसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत राजावादी समूहले प्रदर्शन गर्नेछ ।

एमालेले गणतन्त्र दिवस मनाउने कार्यक्रम छ । राप्रपालगायत दल र राजावादी समूहले राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको मागसहित प्रदर्शन गर्ने बताएका छन् ।

एमालेलाई भृकुटीमण्डपमा साढे १० बजेदेखि कार्यक्रम शुरु गरेर सवा २ बजेसम्म सक्न प्रशासनले अनुरोध गरेको छ । त्यसपछि शान्तिबाटीका क्षेत्रमा प्रदर्शनका लागि राजावादीलाई समय दिइएको छ ।