काठमाडौं—नेपाली कांग्रेस निकट नेविसंघकले त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रा. खड्क केसी र शिक्षाध्यक्ष प्रा. दुविनन्द ढकालको कार्यकक्षमा तोडफोड र तालाबन्दी गरेका छन् ।
नेविसंघका विद्यार्थी नेताहरुले आज उपकुलपति केसीको कार्यकक्षमा तोडफोड गरेका हुन् । साथै रेक्टर ढकालको कार्यकक्षमा पनि तालाबन्दी गरेका छन् । नेविसंघले परीक्षाको बेला अनियमित विद्यार्थी भर्ना गर्न दबाब दिँदै त्रिवि पदाधिकारीहरुको कार्यकक्षमा तोडफोड र तालाबन्दी गरेका हुन् ।
त्रिविको शैक्षिक क्यालेण्डर अनुसार स्नातक तहको प्रथम वर्षको परीक्षा असारभित्र गराउनुपर्ने उल्लेख गरिएको छ । सोही शैक्षिक क्यालेन्डर अनुसार त्रिविले स्नातक पहिलो वर्षको परीक्षाका लागि फारम खुलाएको थियो । तर, नेविसंघका कार्यकर्ताहरुले भने शैक्षिक क्यालेण्डर विपरित यतिबेला विद्यार्थीको भर्ना लिन दबाब दिएको छ ।
शैक्षिक सत्रको अन्तिममा आएर भर्ना नलिने र क्यालेण्डर अनुसार नै शैक्षिक गतिविधि गर्ने अडान भीसी र रेक्टरले लिएका थिए । दुबैजना आफनो अडानबाट टसमस नभएपछि नेविसंघको नेताहरुले भिसीको कार्यकक्षमा तोडफोड गरेका छन् भने रेक्टरको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
भिसी केसीले अवाञ्छित गतिविधिसँग झुकेर विश्वविद्यालयको क्यालेण्डर नबिगार्ने बताएका छन् । उनले परीक्षाको बेला अनियमित विद्यार्थी भर्ना गर्न दबाब आएको बताए । अवाञ्छित गतिविधिसँग झुकेर विश्वविद्यालयको क्यालेण्डर नबिगार्ने उनको अडान छ ।
प्रतिक्रिया