Breaking

विपक्षी दल एक ठाँउमा उभिएपछि देउवा र लेखक बालुवाटारमा


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले मानव तस्कर प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई जोगाउन लागिपरेका छन् ।

कुनै पनि अनुसन्धान नगरि कांग्रेसले गृहमन्त्री लेखक निर्दोष रहेको ठहर गरिसकेको छ । यता एमालेका नेताहरु पनि गृहमन्त्री लेखकमाथि नियोजित तरिकाले बदनाम गर्ने काम भइरहेको भन्दै बचाउमा उत्रिएका छन् ।

कांग्रेस एमाले गृहमन्त्री लेखकलाई जोगाउनतर्फ लागेपछि नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक ठाउँमा उभिएका छन् । विपक्षी तिन दल एक ठाउँमा उभिएपछि सरकारलाई भने धक्का लागेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको साथ पाएपछि ढुक्क भएका लेखक पनि चिन्तित् बनेका छन् ।

माओवादी, रास्वपा र राप्रपाले लेखकले गृहमन्त्री पदबाट राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान राखेका छन् । जसले गर्दा सरकार र लेखकलाई धक्का लागेको हो ।

विपक्षी दल एक ठाँउमा उभिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखक बालुवाटार पुगेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान विपक्षी दलले राखेपछि त्यसबारे छलफलका लागि देउवा र लेखक बालुवाटार पुगेका हुन् ।

सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गर्ने भएको छ । संविधानको धारा ११९ अनुसार संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते नै बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । तर, गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद चल्न नदिने विपक्षी दलको अडानका बीच बजेट भाषण प्रस्तुत कसरी हुन्छ ? भन्ने चासोको विषय बनेको छ ।