समाचार

विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं पुनः नियुक्त


काठमाडौं—सरकारले विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईंलाई पुनः नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख ५ गते सार्वजनिक सूचना प्रकाशित गरी आवेदन माग गरेकोमा सबै प्रतिस्पर्धीलाई पछि पार्दै हुमागाईं उक्त पदमा पुनः नियुक्त भएका हुन् । यसअघि पनि हुमागाईंले उक्त बोर्डको चार वर्ष नेतृत्व सम्हालिसकेका छन्।

आमसञ्चार माध्यम, वाह्य विज्ञापन –होर्डिंङ्ग बोर्ड मार्फत), सामाजिक सञ्जालबाट हुने विज्ञापनका साथै सभा समारोह, चलचित्र घर, मेला महोत्सवमा हुने विज्ञापनको अनुगमन तथा नियमन गर्न सरकारले २०७८ सालमा विज्ञापन बोर्डको गठन गरेको थियो ।

व्यावसायिक कार्य योजना, प्रस्तुतीकरण तथा अन्तरवार्तामा उच्च अंक प्राप्त गर्ने तीनजनाको नाम सिफारिश समितिले मन्त्रिपरिषद्मा पेश गरेको थियो । जसमा सर्वोत्कृष्ट अंक ल्याउन सफल हुमागाईंलाई नियुक्ति गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ्गले जानकारी दिए ।

यसअघि सार्वजनिक संस्थान निर्देशन बोर्डले लिएको खुल्ला प्रतिस्पर्धामा नेपाल टेलिभिजनको महाप्रबन्धक बनेका हुमागाईंले विज्ञापन बोर्डको अध्यक्षको लागि भएको प्रतिस्पर्धामा समेत सबै प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्ष नियुक्त भएका थिए ।

विज्ञापन बोर्डको अध्यक्षको रुपमा २०७७ साल चैत २० गते बोर्डको नेतृत्व सम्हालेका हुमागाईंले ४ वर्षमा विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ मा संशोधन गरी सञ्चार माध्यमको विलको आधारमा मात्र विज्ञापन एजेन्सीलाई विज्ञापनको रकम भुक्तानी गर्नु पर्ने व्यवस्था मिलाएका थिए । जसका कारण विज्ञापन बजारमा रहेको चुहावट रोक्न उनले गरेको प्रयास निकै सफल रहेको मानिन्छ ।