नीति निर्माणको सर्वोच्च थलो मानिने संसद र संसदीय समितिहरूमा सांसदहरूबाट देखिने अमर्यादित व्यवहार र गतिविधिहरूले संसदीय अभ्यास र मर्यादामाथि नै गम्भीर प्रश्न उठाएको छ । सदनभित्रै अर्धनग्न हुनेदेखि सत्ता र प्रतिपक्षका सांसदहरूबीच चर्काचर्की र विवाद संसदीय समितिहरूमा समेत सामान्य जस्तै बन्न थालेको छ । कतिपय सांसदहरू विषयगत बहसमा भन्दा पनि आफ्ना अमर्यादित व्यवहार र उग्र प्रस्तुतिले नै चर्चामा आउने गरेका छन् ।
संघीय संसददेखि संसदीय समितिको बैठकसम्मै माननीय सांसदहरुले देखाएको हर्कतको केही दृश्य हो यो । ‘माननीय’ को विशेषण पाएका सांसदहरूबाटै विभिन्न अशोभनीय गतिविधिहरू बारम्बार देखिँदै आएका छन् । कोही बैठक चलिरहेकै बेला उत्तेजित हुँदै अर्धनग्न हुन्छन् भने कोही विषयगत छलफलमा उग्र र आक्रामक रूपमा प्रस्तुत हुन्छन् । सामान्य भनाभनदेखि हात हालाहालकै स्थितिमा पुग्ने र चर्को स्वरमा अमर्यादित शब्द प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ । विडम्बना त के छ भने, केही सांसदहरूले यस्तै व्यवहारलाई नै चर्चामा आउने ‘गुरुमन्त्र’ बनाएका छन् । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायत संसदीय समितिमा आफ्नो प्रस्तुतिले चर्चा र आलोचना दुवैमा छिन् । उनीमाथि विषयगत ज्ञान र तर्कपूर्ण बहसमा भन्दा पनि अक्सर बहकिएर तर्कहीन र आक्रामक शैलीमा प्रस्तुत हुने गरेको आरोप लाग्दै आएको छ । हालै सगरमाथा संवादमा संसदीय समितिका सदस्यलाई नबोलाइएको भन्दै उनी कृषि समिति बैठकमै जंगिइन् ।
यसअघि कृषि समितिबाटै पोखरा अनुगमनमा जाँदा अन्य सांसदले ‘रक्सी खाएर’ रास्वपा सांसदको कुरा काटेको भन्दै उनले समितिमा हंगामा मच्चाएकी थिइन् । संसदीय मञ्चहरूमा कसरी प्रस्तुत हुने र तर्क गर्ने भन्ने आधारभूत ज्ञानको अभाव उनमा प्रष्टै देखिन्छ ।
कठायत मात्र होइन, राजनीतिक रूपमा नयाँ मानिएका रास्वपाकै हरि ढकाल, राप्रपाका ज्ञानेन्द्र शाही र नेकपा (माओवादी केन्द्र)का लेखनाथ दाहाल पनि सदनमा चर्को स्वरमा बोल्ने र बाझाबाझमै उत्रिने सांसदको सूचीमा पर्छन् ।
तर, यस्ता गतिविधिमा नयाँ सांसद मात्र होइन, लामो राजनीतिक अनुभव भएका र पटकपटक सांसद बनिसकेका ‘अनुभवी’ हरू समेत संलग्न देखिन्छन् । यस सूचीमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह अग्रपंक्तिमा देखिन्छन् । दुई दशक लामो राजनीतिक अनुभव र प्रखर वक्ताको छवि बनाएका सिंहको पछिल्लो समयका गतिविधिले उनको विगतको छविलाई नै चुनौती दिइरहेको छ । आफ्ना कुरा सुनुवाइ नभएको भन्दै सदनमै अर्धनग्न हुनेदेखि संसदीय समितिमा सभापति र सहकर्मी सांसदहरूसँग चर्को विवाद गर्नु उनका लागि सामान्य जस्तै बनेको छ । लेखा समितिमा उनको र एमाले सांसद गोकुल बास्कोटाबीचको भनाभन सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो ।
वर्तमान परराष्ट्रमन्त्री डाक्टर आरजु राणालाई पम्फादेवीको संज्ञा दिएपछि मुद्दा मामिला नै झेल्नुपरेका अमरेशले कांग्रेस नेतृत्वलाई गाली गर्न छोड्ने कुरै भएन । विगतमा कांग्रेसबाट टिकट नपाएको झोंकमा उनी निरन्तर कांग्रेस नेतृत्वप्रति आक्रामक देखिन्छन् ।
त्यस्तै, एमालेका गोकुल बास्कोटा, कांग्रेसका रामहरि खतिवडा र हृदयराम थानी, तथा माओवादी केन्द्रका अमनलाल मोदी जस्ता पटकपटक सांसद भइसकेका र अनुभवी नेताहरू पनि संसदीय मर्यादाविपरीत प्रस्तुत हुने गरेका छन् ।
माओवादी सांसद अमनलाल मोदी त संसदीय समितिहरूमा व्यक्तिगत तुष पोख्दै, असान्दर्भिक तर्क गर्ने र ‘तँ–तँ म–म’ को शैलीमा झगडा गर्न तम्सिने पात्रका रूपमा चिनिन्छन् । चर्को स्वरमा बोलेपछि मात्र आफ्नो कुरा सुनुवाइ हुन्छ भन्ने मानसिकता उनीजस्ता केही सांसदमा देखिन्छ ।
सांसदहरूको यस्तो व्यवहारले संसदीय मर्यादा र उनीहरूको व्यक्तिगत गरिमामाथि नै प्रश्न उठेको छ । यसले चर्को स्वर र विवादास्पद अभिव्यक्तिले मात्र चर्चामा आउन सकिन्छ भन्ने गलत भाष्य स्थापित हुँदैछ । फलस्वरुप, तर्क र तथ्यमा आधारित बहसभन्दा लोकप्रियता र चर्चाका लागि अनावश्यक विषयमा सांसदहरू केन्द्रित हुँदा संसदीय समितिहरूको कामकारबाही प्रभावित हुने गरेको छ । बैठकहरू सहज रूपमा अघि बढ्न नसक्दा समिति सभापतिहरू नै हैरान भएर सांसदहरूको शैलीप्रति गुनासो गर्न थालेका छन्, जसको उदाहरण लेखा समितिका सभापति ऋषिकेश पोखरेलको अभिव्यक्ति हो ।
पछिल्ला दिनमा संसदीय समितिहरूमा छलफलभन्दा झगडा बढी देखिन थालेको छ, जसले नीति निर्माणको मूल थलो सदनको गरिमा र प्रभावकारितामाथि नै आँच पु¥याइरहेको छ । सांसदहरूले मर्यादा बिर्सेर बलमिच्याइँपूर्ण व्यवहार देखाउँदा एकअर्कालाई होच्याउने र पेल्ने प्रवृत्ति हावी भएको देखिन्छ । यस्तो अवस्थामा, ‘माननीय’ ज्यूहरूले आफ्नो भूमिका र व्यवहारप्रति गम्भीर आत्मसमीक्षा गरी सुधारको बाटोमा लाग्नु अपरिहार्य भएको छ ।
प्रतिक्रिया