नेकपा एमालेका जनसङ्गठनहरुमध्ये पहिलोपटक राष्ट्रिय युवा सङ्घमा निर्वाचन हुने भनिए पनि अन्तिम समयसम्म आइपुग्दा त्यस्तो छनक देखिएको छैन । आइतबार नै युवा सङ्घको नयाँ नेतृत्व टुंगिसक्नु पर्ने भए पनि सोमबारसम्म निर्वाचन हुन सकेको छैन । शीर्ष नेतृत्व सर्वसम्मत गराउने प्रयासरमा रहे पनि उम्मेदवाहरू टसमस नहुँदा न निर्वाचन हुन सकेको छ न त नेतृत्वको नै टुंगो लागेको छ ।
यतिखेर पर्यटकीय नगरी पोखरा ७७ वटै जिल्लाका युवाहरूले भरिभराउ छ । नेकपा एमाले निकट भ्रातृसङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको १० औं महाधिवेशनमा सहभागी हुन युवाहरू कास्की पुग्दा पर्यटकीय शहर पोखरा युवामय बनेको हो । हट्टाकट्टा खाइलाग्दा युवाहरूले अड्डा नै जमाउँदा पोखरामा चुनावी माहोल छाएको छ । तर, तीनदिनका लागि गत शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा नयाँ नेतृत्वका लागि सोमबारसम्म पनि मतदान हुन सकेको छैन । आइतबार अर्थात् जेठ ११ सम्ममा युवा सङ्घको नयाँ नेतृत्व चयन भइसक्नुपर्ने भए पनि सर्व सहमतिबाट नै नेतृत्व चयन गर्ने पक्षमा हुँदा निर्वाचनको प्रक्रियामै ढिला भएको हो । अझै पनि अध्यक्ष लगायतका नेताहरू नै मिलाउन तर्फ लागि पर्दा चुनाव हुने सम्भावना कमजोर देखिएको छ ।
सर्वसम्मत हुने भयो भने सोमबार बेलुकासम्म टुङ्गिने सम्भावना छ भने, यदि सर्वसम्मत भएन भने मङ्गलबार मात्रै चुनाव हुने देखिन्छ । युवा सङ्घको कमाण्ड सम्हाल्न चुनावी मैदानमा उत्रिएका निर्वतमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी प्रतिष्पर्धामा छन् । पार्टीले नै सर्वसम्मति गर्न निर्देशन दिए पनि उक्त प्रयास सफल हुन नसक्दा थेबे र पुरी प्यानल नै बनाएर निर्वाचनमा होमिएका हुन् । निर्वाचन अघि दुवैले शक्ति प्रदर्शन गर्दै महाधिवेशनमा आ–आफ्नो प्रभाव देखाउने प्रयास गरेका थिए । नेताहरू मिलाउन जुटिरहँदा उम्मेदवारहरू भने चुनावी माहोल बनाउनतर्फ लागिपरेका छन् ।
नेताहरूले उम्मेदवारहरुलाई फकाउने, गलाउने, धम्क्याउने सबैखाल उपाय अपनाए पनि दाबेदारहरूले आफ्नो अडान नछोडेपछि सर्वसम्मत प्रयास विफल हुने सङ्घारमा छ । यद्यपि, निवर्तमान अध्यक्ष थेबेले नेता÷कार्यकर्ताहरूको अर्काे एक कार्यकाल पनि दोहो¥याउन आग्रह गरेपछि त्यसको सम्मान गर्दै आफ्नो उम्मेदवारी रहेको जिकिर गरेका छन् । एमाले नेतृत्व नै आफूलाई पुनः अध्यक्षमा हेर्न चाहेको दाबी क्षितिजको छ । बेरोजगारी समस्याका समाधानसहित चुनावमा होमिएको बताएका थेबेले तीन वर्षमा तीन लाख उद्यमी बनाएर तीस लाख रोजगारी सिर्जना गर्ने आफ्नो एजेण्डा भएको बताएका छन् ।
थेबेले आफू नेतृत्वको उम्मेदवार बताइरहँदा अर्का अध्यक्षका दाबेदार सुमन पुरीले त्यसको खण्डन गरेका छन् । आधिकारिक व्यक्तिले आफूलाई आधिकारिक भन्दै चिनाउँदै हिँड्नु नपर्ने पुरीको भनाइ छ । झुटले मात्रै आफूलाई सही सावित गर्न चिच्याईचिच्याई यस्ता बयानबाजी गर्नु पर्ने भन्दै थेबे नेतृत्वको आधिकारिक उम्मेदवार भएको चर्चालाई खण्डन गरेका हुन् । साथै उनले आफू यसअघि उपाध्यक्षसहित कार्यकारी पद महासचिवको पनि जिम्मेवारी सम्हालिसकेको हुँदा यसपटक अध्यक्षको रुपमा प्रस्तुत भएको बताएका छन् ।
थेबेको पक्षमा पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, जनसङ्घठन इन्चार्ज भानुभक्त ढकाल, पूर्व अध्यक्ष महेश बस्नेतलगायत नेताहरू भएको चर्चा छ भने, पुरीलाई विष्णु पौडेलले साथ दिए पनि अन्य शीर्ष नेताहरू खुलेर लागेका छैनन् । तर, पनि सङ्घको पूर्व अध्यक्ष रमेश पौडेल, वचनबहादुर सिंहको साथ रहेको छ । युवा सङ्घको निर्वाचनमा देखिएको प्रतिष्पर्धा पछि विभित्र टिकाटिप्पणी हुन थालेको छ । एमाले नेतृत्वले नै क्षितिजलाई अध्यक्षमा हेर्न चाहेको र यो क्षितिजको मात्रै नभएर पार्टी नेतृत्वकै परीक्षाको रुपमा रहेको भाष्य निर्माण भएको छ । तर, एमालेका स्थायी कमिटी सदस्य गोकुल बास्कोटाले चुनाव हुँदैमा दुस्मनी र सहमति गरे टिके प्रथा भन्नु गलत भएको धारणा राखेका छन् ।
साथै जबज भनेको गजब र शीर्ष नेताको आशीर्वाद आफूलाई रहेको भन्दै प्रचार गर्नु पनि गलत रहेको बताएका छन् । अध्यक्षसहित दुई उपाध्यक्ष, एक÷एक महासचिव र उपमहासचिव, मधेशी, महिला र खुला दुई गरी चार सचिवसहित नौ पदाधिकारीलगायत १५१ केन्द्रीय सदस्य र लेखा, निर्वाचन, अनुशासन र युवा विज्ञ परिषद् गरी चार आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १६३ पदमा तीन सय ९९ जनाको उम्मेदवारी परेको छ । एक हजार ७५२ जना प्रतिनिधि भएको महाधिवेशनमा शीर्ष नेतृत्वबाटै सर्वसहमतिको प्रयास जारी छ । तर लोकतान्त्रिक पद्धति मान्ने भनेर भाषणबाजी गर्ने एमालेले चुनावभन्दा पनि आफूले चाहेको व्यक्तिलाई मात्र जनसंगठनको नेतृत्व दिन चाहनुले भने प्रश्न खडा गरेको छ ।
प्रतिक्रिया