Breaking

एमालेको सचिवालय बैठक आज बस्दै, यस्ता छन् मुख्य एजेन्डा


काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।

बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्ने गरी बोलाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जानेहरुबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको आरोप लागिरहेका बेला एमालेले बैठक बोलाएको हो ।

कांग्रेसभित्रैबाट लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठेका बेला एमाले बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुने बताउनुभएको थियो ।

एमाले बैठकमा लेखकमाथि लागेको आरोप लगायत विषयसहित समसामयिक राजनीति र सरकारका कामकारबाहीबारे छलफल हुने नेताहरूले बताएका छन् ।