अन्तर्राष्ट्रिय

युक्रेन र रुसबीच अहिलेसम्मकै धेरै कैदी आदानप्रदान


सन् २०२२ मा युद्ध सुरु भएयता युक्रेन र रुसबीच अहिलेसम्मकै ठूलो संख्यामा कैदी आदानप्रदान भएको छ ।


दुवै देशले गरी ३९० जना सैनिक र सर्वसाधारण एकअर्कालाई हस्तान्तरण गरेका हुन्। यति धेरै नागरिक रिहा गरिएको यो पहिलोपटक हो। एक हप्ताअघि टर्कीमा भएको प्रत्यक्ष वार्तामा भएको एकमात्र सम्झौताअन्तर्गत दुई देशले बेलारुससँगको युक्रेनी सीमामा २७० सैनिक र १२० सर्वसाधारण एकअर्कालाई फिर्ता गरेका हुन्। दुवै पक्षले १ हजार कैदी आदानप्रदान गर्न सहमति जनाएका छन् ।

रुसको रक्षा मन्त्रालयले हस्तान्तरण गरिएका सैनिक र सर्वसाधारण युक्रेनी आक्रमणका क्रममा रुसको कुस्र्क सीमा क्षेत्रमा युक्रेनी सेनाले कब्जा गरेका व्यक्ति पनि रहेको बताएको छ ।

यसैबीच, इजरायले गाजामा आटा बोकेको ट्रक नजिकै प्यालेस्टिनीहरूलाई लक्षित गरी घातक आक्रमण गरेको छ । गाजा शहर नजिकै भएको सो आक्रमणमा चार जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ ।