काठमाडौं—गएको चैत १५ मा काठमाडौंको तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शनका संलग्न १०८ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई रायसहितको प्रतिवेदन बुझाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार १०८ जना विरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित सरकारी वकिलसमक्ष प्रतिवेदन पेश गरेको परिसरका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहोराले जानकारी दिए । उनका अनुसार प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईलाई भने ५ वटा मुद्दा चलाउन राय दिइएको छ ।
प्रहरी प्रतिवेदनलाई अनुसन्धान र विश्लेषण गरेर आइतबारसम्म अभियोगपत्र दायर गर्ने सरकारी वकिलको कार्यालयले जनाएको छ । प्रहरीले ४ जना बालबालिका सहित १०८ जना विरुद्ध पाँच कसुरमा मुद्दा दायर गर्न प्रस्ताव गरेको जनाइएको छ ।
प्रहरीले आपराधिक उपद्रव, संगठित अपराध, राज्य विरुद्धको कसुर, कर्तव्य ज्यान मुद्दा, ज्यान मार्ने उद्योग लगायतमा मुद्दा चलाउन राय दिएको छ । प्रहरीले यस घटनामा आपराधिक उपद्रव र संगठित अपराधमा ६१ जना र राज्य विरुद्धको कसुरमा २९ जनामाथि अनुसन्धान गरिरहेको थियो । त्यसमध्ये आपराधिक उपद्रव, संगठित अपराधमा अनुसन्धानमा रहेका ३४ र राज्य विरुद्धको कसुरमा रहेका ३ जना हाजिरी जमानीमा छुटिसकेका छन् ।
प्रदर्शनमा कमान्डर दुर्गा प्रसाईं हिरासतमै रहे पनि प्रदर्शनमा संलग्न भएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री एवं सांसद धवलशमशेर राणालाई हाजिरी जमानीमा अदालतले छोडिसकेको छ ।
प्रतिक्रिया