काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेठ २३ गतेबाट जनयात्रा सुरू गर्ने भएको छ। बिहीबार बसेको जनयात्रा संयोजन समितिको बैठकले झापाको मेचीनगरबाट जनयात्रा सुरू गर्ने निर्णय गरिएको प्रवक्ता निशा डाँगीले जानकारी दिइन्।
उनका अनुसार आज बसेको बैठकले जनयात्राको सन्दर्भमा तीनवटा निष्कर्ष निकालेको छ। पहिलो, जनयात्रा जेठ २३ गतेबाट सुरू गर्ने, दोस्रो जनयात्रा झापाबाटै सुरू गर्ने र तेस्रो जनयात्रालाई स्थानीय स्तरसम्म लैजाने निर्णय गरिएको उनले बताइन्। उनले सभा, सम्मेलन, कोण सभा भन्दा पनि जनयात्रा समस्या संकलन र समाधानमा केन्द्रित रहने योजना रहेको बताइन्। यद्यपि केन्द्रीय संयोजन समितिका तर्फबाट अभियानको कार्यविधि नै तय गरिएको छ।
रास्वपाले गत चैत २३ गते चितवनमा जनयात्राको उद्घाटन गरिसकेको छ। पार्टी सभापति रवि लामिछानेले नै अभियानलाई सुरू गर्ने भने पनि उनी चैत २२ गते पक्राउ परी जेल चलान भएका थिए। त्यसपछि रास्वपाले चितवनमा अभियान सुरू गरेर अघि बढाएको थिएन। रास्वपाभित्र पश्चिमबाट जनयात्रा थाल्ने कि पूर्व जाने भन्ने बहस पनि थियो।
प्रदेश इन्चार्ज, सांसद र केन्द्रीय नेतासँगको छलफल, परामर्शपछि पूर्वबाटै जनयात्रा थाल्ने निष्कर्ष निकालेको हो। अभियानको संयोजन गर्ने जिम्मा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई दिइएको छ। उपसंयोजकको जिम्मेवारी डा. तोसिमा कार्कीले पाएकी छन्।
प्रतिक्रिया