Breaking

दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति


काठमाडौं—काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको ज्यान गएको थियो भने आगजनी र लुटपाटका घटना भएका थिए ।

प्रहरीले सोही दिनदेखि केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले बताए। उनीहरूलाई आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । राज्यविरुद्धको कसुरमा २८ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१५ चैतको दिन प्रसाईंले निषेधित क्षेत्रतर्फ आफैंले मोटर कुदाएर गएका थिए । प्रहरीले त्यसपछि भिड अनियन्त्रित बनेको बताउने गरेको छ । प्रसाईं भने सोही दिन काठमाडौंबाट भागेर भारत पुगेका थिए । पछि प्रहरीले उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको हो ।

यस तीनकुने घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री एवं सांसद धवलशम्शेर राणासहित ३७ जना हाजिर जमानीमा छन्। थपिएको यही अवधिभित्र अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । सरकारी वकिलको कार्यालयले ६० दिनभित्र मुद्दाको अभियोजनपत्र अदातलमा दर्ता गरिसक्नुपर्छ ।