युक्रेन । तीन वर्षभन्दा लामो समयसम्म चलेको युद्धलाई युद्धविराम गर्ने उद्देश्यले रुस र युक्रेनबीच शुक्रबार टर्की राजधानी इस्तानबुलमा भएको वार्ता लगतै युक्रेनमा आक्रमण गरेको छ ।
शान्ति वार्ताको २४ घण्टा नवित्दै युक्रेनको एक सार्वजनिक बसमा रुसले आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी युक्रेनमा रुसले एक सार्वजनिक बसमा आक्रमण गरेको छ । आक्रमणमा परि ९ जनाको मृत्यु भएको छ । शनिवार बिहान सुमीको बिलोपिलियामा भएको आक्रमणमा अन्य ७ जना घाइते भएका अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । रुस र युक्रेनले सन् २०२२ पछि पहिलो प्रत्यक्ष शान्ति वार्ता गरेको केही घण्टापछि आक्रमण भएको हो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले जानाजान नागरिकहरूको हत्या गरेको आरोप लगाएका छन् । घटनाबारे रुसले प्रत्यक्ष रुपमा कुनै टिप्पणी गरेको छैन ।
रुस वार्ता टोलीको नेतृत्व गरिरहेका भ्लादिमिर मेडिन्स्कीले शुक्रबारको वार्ताबाट आफूहरू सन्तुष्ट रहेको बताएका छन् । वार्ता सकिएलगत्तै मेडिन्स्कीले सञ्चारकर्मीहरूसँग कुरागर्दै रुस यसपछि हुने वार्ताका लागि पनि तयार रहेको भन्दै ‘सम्पर्कमा रहिरहने’ बताए । इस्तानबुल वार्तामा उठेका छलफलबारेमा मेडिन्स्कीले थपे, ‘युक्रेनसँग आगामी दिनमा ठूलो मात्रामा कैदीबन्दी साटासाट हुनेछ, त्यो संख्या एक हजारका बदला एक हजारको हुनेछ ।’ युक्रेनी प्रतिनिधिमण्डलले भने आगामी वार्ता रुस र युक्रेनका राष्ट्रपतिहरू भ्लादिमिर पुटिन र भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष रूपमा हुनुपर्ने सर्त राखेको छ ।
उक्त मागमा पनि रुसी प्रतिनिधिहरू सकारात्मक देखिएका छन् । तुर्किको मध्यस्थतामा शान्ति वार्ताका लागि रुस र युक्रेनका प्रतिनिधिहरू इस्तानबुल पुगेका थिए । वार्ताका लागि तुर्किका विदेशमन्त्री हकान फिदानले सहजीकरण गरेका थिए । शुक्रबारको वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भने उपस्थित थिएनन् । रुसी राष्ट्रपति पुटिनले नै शान्ति वार्ताका लागि प्रस्ताव गरेपछि दुई देशबीचको झन्डै ३९ महिना लामो संघर्ष रोकिने आशा गरिएको छ । पुटिनले मिति नै तोकेर दीर्घकालीन शान्तिका लागि भन्दै युक्रेनसमक्ष वार्ताको प्रस्ताव गरेका थिए ।
हजारौंको ज्यान लिनुका साथै लाखौंलाई विस्थापित गराइसकेको यो युद्धलाई रोक्न युक्रेनले रुससमक्ष ‘बिनासर्त युद्धविराम’ को माग गर्दै आइरहेको छ । युक्रेन र रुसले पछिल्लो पटक २०२२ मार्चमा पनि प्रत्यक्ष वार्ता गरेका थिए । तर लगत्तै रुसले युक्रेनमा आक्रमण जारी राखेपछि वार्ता असफल भएको थियो । त्यसयता युद्ध जारी छ भने रुसले युक्रेनको करिब पाँच भागको एक भाग कब्जा गरिसकेको दाबी गरेको छ ।
युरोपेली नेताहरूले पुटिनले इस्तानबुल वार्तालाई गम्भीरतापूर्वक नलिएको भन्दै निन्दा गर्दै आएका छन् ।
(बाकी सामाग्री भिडियोसहित)
प्रतिक्रिया