Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

अमेरिकाविरुद्ध व्यापारिक मोर्चा बनाउँदै चीन


चिनिया राष्ट्रपति सी जिनफिङले अर्को हप्ता दक्षिणपूर्वी एसियाको भ्रमण गर्ने भएका छन् । अमेरिकी करसँग चीन जुधिरहेका बेला यो भ्रमण हुन लागेको हो ।

अमेरिकी कर नीतिविरुद्ध अन्य शक्ति राष्ट्रहरुको मोर्चाबन्दी गर्ने प्रयासमा रहेका चिनिया राष्ट्रपति सी जिनपिङ आगामी हप्ता दक्षिणपूर्वी एसियाको भ्रमणमा निस्कने भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार राष्ट्रपति सी अप्रिल १४ देखि १८सम्म भियतनाम, मलेसिया र कम्बोडियाको राजकीय भ्रमणमा निस्कन लागेका हुन् । भ्रमणको सुरूवात अप्रिल १४ देखि भियतनामबाट हुनेछ । त्यसपछि उनी मलेसिया र कम्बोडिया जाने कार्यक्रम तय भएकोे छ । चीनले अमेरिकासँग भन्सार शुल्कलाई लिएर कडा प्रतिस्पर्धा गरिरहेका बेला सी भ्रमणमा निस्कन लागेका हुन् । यी दुई देशबीचको रणनीतिक प्रतिस्पर्धाका कारण विश्व कै अर्थतन्त्र नकारात्मक रूपमा प्रभावित हुँदै जाने अवस्था देखिएको छ ।

अमेरिकी राष्ट्रपतिले डोनाल्ड ट्रम्पले १२५ प्रतिशत कर लगाएपछि चीन पनि आक्रामक बन्दै गएको छ । चीनले अमेरिकी करविरुद्ध सम्पूर्ण विश्वलाई एकताबद्ध हुन पनि अपिल गरेको छ । चिनिया राष्ट्रपति सीले अमेरिकी करको सामना गर्न चीनले आफ्ना छिमेकी देशसँगको सम्बन्ध बलियो बनाउनुपर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले हालै भियतनाममाथि ४६ प्रतिशत, मलेसियामाथि २४ प्रतिशत र कम्बोडियामाथि ४९ प्रतिशत भन्सार लगाएका थिए । यद्यपि हाल यी भन्सारहरूमा ९० दिनका लागि रोक लगाइएको छ, तर यो अवधिभर १० प्रतिशत आधारभूत भन्सार शुल्क भने लागु हुनेछ । अमेरिकाले चीनमाथि भने भन्सार शुल्क बढाएर १४५ प्रतिशत पु¥याएको छ ।

चीनले पनि त्यसको बदलामा अमेरिकामाथि भन्सार शुल्क बढाएर १२५ प्रतिशत पु¥याएको छ । चीनले अमेरिकाको जबरजस्तीका अगाडि नझुक्ने तर, अन्तिम क्षणसम्म लड्ने उद्घोष गरेको छ । भन्सार शुल्कका कारण व्यापार युद्ध चर्किंदै जाँदा चीनले बिहीबार प्रतिक्रिया दिँदै अमेरिका सामु ‘जबरजस्ती’ झुक्ने होइन, अन्तिमसम्म लड्ने बाटो रोज्ने बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनिन्, ‘चीन उक्साहटबाट डराउँदैन, हामी पछि हट्दैनौं ।’ अमेरिकी भन्सार शुल्क विवादसँगै विश्व सेयर बजार र कच्चा तेलको मूल्यमा गिरावट आएको छ । सन् २०२४ मा अमेरिकाबाट चीनमा निर्यात गरिएका सामानहरूको सबैभन्दा ठूलो हिस्सा भटमासको थियो, जुन मुख्यतः चीनको ४४ करोड सुँगुरहरूलाई खुवाउन प्रयोग गरिन्छ ।

अमेरिकाले चीनमा औषधि र पेट्रोलियम पदार्थ पनि निर्यात गर्छ । अर्कोतर्फ, चीनबाट अमेरिकामा निर्यात हुने सामानहरूमा धेरैजसो इलेक्ट्रोनिक्स, कम्प्युटर र खेलौनाहरू पर्छन् । चीनले विद्युतीय सवारी साधनका लागि आवश्यक पर्ने ब्याट्रीको ठूलो हिस्सा निर्यात गर्ने गरेको छ । तर, चीनबाट अमेरिकामा हुने निर्यातमा स्मार्टफोनको हिस्सा सबैभन्दा ठूलो छ, जुन चीनबाट अमेरिकामा हुने कुल निर्यातको ९ प्रतिशत हो । यी स्मार्टफोनहरूको ठूलो हिस्सा अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलका लागि बनाइएको हो । यही कारणले गर्दा अमेरिकाले चीनमा कर लगाएपछि हालैका हप्ताहरूमा एप्पलको बजार मूल्य सबैभन्दा बढी घटेको छ । पछिल्लो एक महिनामा नै यसको सेयर २० प्रतिशतले घटेको छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा चीनमाथि २० प्रतिशत कर लगाएपछि चीनबाट अमेरिकामा आयात हुने सामानको मूल्य उल्लेखनीय रूपमा बढेको थियो ।

अब सबै सामानहरूमा १४५ प्रतिशत कर लगाइएपछि अमेरिकामा धेरै गुणाले मूल्य बढ्नेछ । चीनमा पनि त्यस्तै अवस्था आउनेछ र अमेरिकी निर्यातमा प्रतिशोधात्मक भन्सार लगाउनाले त्यहाँ पनि मूल्य बढ्नेछ र यसको भार उपभोक्ताहरूमा पर्नेछ । यति मात्रै होइन चीन र अमेरिका बीचको खुला व्यापार युद्धले विश्वव्यापी स्तरमा समेत नकरात्मक असर पर्ने देखिएको छ । दुवै देशले एकअर्काको बजारमा निर्भरता कम गर्न अन्य देशहरूसँग व्यापार सम्बन्ध विस्तार गर्न सक्ने देखिएको छ । उदाहरणका लागि, चीनले अफ्रिका र युरोपमा आफ्नो बजार विस्तार गर्न जोड दिइरहेको छ, भने अमेरिकाले भारत र दक्षिणपूर्वी एसियाली देशहरूसँग सम्बन्ध बलियो बनाउन सक्ने सम्भावना छ । यो युद्धले दुवै देशलाई प्रविधि र उत्पादनमा आत्मनिर्भर हुन प्रेरित गर्ने देखिएको छ । चीनले आफ्नै सेमिकन्डक्टर र प्रविधि विकासमा लगानी बढाएको छ, भने अमेरिकाले पनि स्वदेशी उत्पादनलाई प्राथमिकता दिइरहेको छ । लामो समयसम्म यस्तो तनाव कायम रहे विश्व व्यापार संगठन (डब्लुटीओ) जस्ता संस्थाहरूको प्रभाव कम हुन सक्ने र क्षेत्रीय व्यापार सम्झौताहरूले प्राथमिकता पाउन सक्ने सम्भावना बढेर गएको छ ।

यो व्यापार युद्धलाई आर्थिक प्रतिस्पर्धा, राजनीतिक शक्ति प्रदर्शन र विश्व अर्थतन्त्रमा प्रभाव कायम राख्ने रणनीतिका रूपमा लिन सकिन्छ । छोटो अवधिमा यसले बजारमा अस्थिरता र उपभोक्तालाई असर गर्नेछ, तर लामो अवधिमा यसले विश्व अर्थतन्त्रको संरचना नै परिवर्तन गर्न सक्ने देखिन्छ । दुवै देशले वार्ता र सहमति मार्फत तनाव कम गर्ने प्रयास नगरे यो युद्धले विश्वलाई थप आर्थिक मन्दीतर्फ धकेल्न सक्छ । अमेरिकासंग व्यापार युद्धमा जुधिरहेका बेला सीको दक्षिणपूर्वी एसियाको भ्रमणलाई अर्थपूर्ण र विशेष महत्वका साथ हेरिएको छ । अमेरिकी करविरुद्ध लड्न आफ्ना छिमेकी देशसँगको सम्बन्ध बलियो बनाउँदै मोर्चाबन्दीको प्रयासमा लागेको चीनको आगामी रणनीति कस्तो रहन्छ ? यसतर्फ पनि चासो बढिरहेको छ ।