राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्ने क्रममा मानवअधिकारको गम्भीर उल्लंघन भएको भन्दै मानवअधिकार आयोग गुहारेको छ । गत शुक्रबार राति निजी निवास हात्तीगौंडाबाट लामिछानेलाई पक्राउ गर्ने क्रममा प्रहरी सामान्य कानुनी प्रक्रिया पनि पूरा नगरी अस्वभाविक हर्कत देखाएको भन्दै रास्वपाले आज मानव अधिकार आयोगमा निवेदन दिएको हो ।
कात्तिक दुई गते पहिलो पटक लामिछाने पक्राउ परेदेखि हिरासत बसाइँ हुँदै कारागार चलानसम्ममा राज्यले मानव अधिकार हनन् गरेको भन्दै एउटा तप्का उभिरहेको बेला बुधबार रास्वपा नेता कार्यकर्ताले सभापति लामिछानेको अधिकार रक्षाका लागि मानव अधिकार आयोग गुहारेका छन् ।
सहकारी प्रकरणमा ८४ दिन हिरासत बसार्इंका क्रममा पाँच जिल्लामा दुःख दिने नियतले फनफनी घुमाएको, रातारात एउटा जिल्लाको हिरासतबाट अर्काे जिल्लामा परिवारलाई पनि खबर नगरी अड्डासार गरेको, पछिल्लो पटक पक्राउ गर्दा बुटवलको तुलसीपुर उच्च अदालतले कारागार पठाउने आदेश गरेको केही घण्टामा सभापति लामिछानेको निवासमा सयौँको संख्यामा प्रहरी परिचालन गरि पक्राउ पुर्जी बिना सयन कक्षसम्मै पुगेर अन्तिम इच्छा सोधेको विषयमा मानव अधिकारको ध्यानाकर्षण गराउन रास्वपाका कावा महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेतक सन्तोष परियार,सांसद गणेश पराजुली लगायतका नेता मानव अधिकार आयोगको कार्यालय पुगेका थिए ।
रास्वपाले पार्टी सभापति लामिछानेमाथि प्रहरीले ज्यादती गरेको भन्दै लामिछानेको मानव अधिकार रक्षाका लागि आयोगकापदाधिकारीको ध्यानाकर्षण गराएका हुन् ।बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा चैत २२ गते शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै उच्चले पुर्पक्षमा पठाउन आदेश दिएपछि लामिछाने पक्राउ परेका हुन् । शुक्रबार राति पक्राउ परेका लामिछानेलाई भोलिपल्ट शनिबारको सार्वजनिक बिदा परेकाले दुई रात हिरासतमा राखेर २३ गते मात्रै भैरहवा कारागार चलान गरिएको थियो । तर पक्राउ पुर्जी बिनै नियन्त्रणमा लिइनु र प्रहरीबाट भएको ज्यादतीलाई लिएर रास्वपाले विरोध जनाउँदै आएको छ ।
रास्वपाले मानव अधिकार आयोगमा दर्ता गरेको निवेदनमा लामिछानेविरुद्ध अस्वाभाविक, अशोभनीय, गैरकानुनी कार्य भएको, प्रहरीले असामान्य व्यवहार गरी अभद्र शैली अपनाएको, अनुमति बिनै घरभित्र प्रवेश गरेको, शयन कक्षमै पुगेर धरपकड गरेको लगायत विषय उल्लेख गरिएको छ ।राज्य संयन्त्रले मानव अधिकार हनन् हुनेगरी धरपकड गर्न खोजेको र सामान्य प्रक्रिया पनि पूरा नगरी राज्यसंयन्त्र रातारात लागेर सामान्य जीवनमा ठूलै हलचल ल्याउने गरी उत्रिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
उक्त घटनाको आवश्यक छानबिन गरेर दोषीलाई कारबाही गर्न रास्वपाले माग गरेको छ । साथै प्रहरीले प्रयोग गरेका शब्दहरूप्रति पनि रास्वपाले आपत्ति जनाएको छ ।त्यस्तै रास्वपाले प्रहरीले पक्राउका क्रममा असंवैधानिक र गैरकानुनी रूपमा अभद्र तरिकाले प्रस्तुत भएको र सामान्यतः मृत्युदण्ड दिन फाँसीमा चढाइने व्यक्तिलाई अन्तिम अवस्थामा जल्लादले सोध्ने जस्तो भाषामा ‘अन्तिम इच्छा के छ’ भनेर सोधिएको बताएको छ।
यस्तो कार्यले सभापति लामिछानेको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको मात्र उल्लंघन नभएको जनाउँदै जीउ–ज्यानसमेत असुरक्षित भएकोतर्फ रास्वपाले संकेत गरेको छ। सभापति लामिानेमाथि राज्यले दबाबपूर्ण तरिकाले पक्राउ गरेपछि रास्वपाका नेता तथा कार्यकताहरु शशंकित बनेका छन् ।लामिछाने उपर भएको मानव अधिकार हनन्कोसुक्ष्म रुपमा अनुसन्धानमा लागेको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । साथै विभिन्न सामाजिक सन्जालमा आएका भिडियो रिफ्रेन्सका आधारमा अनुसन्धान गरी दोषी देखिए कार्वाहीका लागि सिफारिस गर्ने आयोगको भनाइ छ ।
कारागार चलानसँगै पार्टी सञ्चालनका विषयमा पनि प्रश्नहरु उठ्न थालेका छन् । यसअघि हिरासतमा हुँदा हिरासतबाटै पार्टी सञ्चालनका लागि निर्देशन दिने गरेका लामिछानेलाई अब काराबारभित्रबाट भने त्यस्तो सहज वातावरण नहुने भएको छ । कानुनका जानकारहरुका अनुसार कारागार भनेको आफ्नै नियम र तरिकाले चल्ने भएकाले त्यहाँ हिरासतमा जस्तो सहज भेटघाट हुने वातावरण हुनेछैन ।
त्यसो त उच्च अदालत तुलसीपुरको आदेशका विषयमा दुई न्यायाधीशको राय बाझिएको चर्चासमेत भइरहेको छ । न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीबीच लामिछानेलाई थुनामा पठाउने कि जिल्लाको आदेशलाई सदन गर्ने भन्नेमा राय बाझिएको विषय बाहिरिएको छ । न्यायाधीश ढकालले लामिछानेलाई थुनामै पठाउनु पर्ने भन्दै जोड गरेपछि न्यायाधीश पराजुली दबाबमा परेकी थिइन् ।
अन्ततः थुनामै पठाउने आदेश आएको भन्दै यस विषयमा समेत रास्वपाको सचिवालय बैठकमा नेताहरुले बिफ्रिङ गरेका छन् । लामिछाने कारागारा चलान भएसंगै रास्वपाको सचिवालय बैठक बुधबार बसेर अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको अधिवेशन,जनयात्रा कार्यक्रम, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरू सम्बन्धमा छलफल गरेका छन् । सभापति लामिछाने कारागार चलान भएपछि रास्वपा माउ बिनाको चल्ला जस्तै बनेको छ । यद्यपि, पार्टी सञ्चालनमा असर नपर्ने नेताहरुले दाबी गरिरहेको अवस्थामा रास्वपाको भावी कदम र राजनीतिक सक्रियता कस्तो रहन्छ ? त्यो भने पर्र्खाइको विषय बनेको छ ।
प्रतिक्रिया