दुई तिहाइ संख्याको बलियो सरकारले समेत अपेक्षित काम गर्न नसकेपछि जनआक्रोश चुलीमा पुगेको छ । सरकारको अक्षमताकै कारण सडक आन्दोलन तातेको मात्र छैन, व्यवस्थाविरोधीहरु पनि यही बेला सलबलाएका छन् । यसले समग्र सरकारमाथि नै नैतिकताको प्रश्न त उठाएकै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पको खोजी हरेक क्षेत्र र व्यक्तिले गरिरहेका छन् ।
शक्तिशाली सरकार बनेको ९ महिनामा सरकारका सुनौला दिन भन्दै जनताले पुरस्कृत गर्नुपर्ने हो । तर, इतिहासकै असफल सरकार भन्दै तिरस्कार गर्नुपर्ने अवस्था आउँदैछ । संयोग हो वा नियोजित यसै भन्न सकिँदैन । तर, जब जब ओली प्रधानमन्त्री बन्छन् । कि जनताको व्यापक समर्थन पाउँछन्, कि व्यापक विरोध । अहिले आफ्नै कुबुद्धीका कारण चौतर्फी रुपमा ओलीको विकल्पको खोजी भइरहेको छ ।
१. सर्वसाधारण र सडक
अहिले आम सर्वसाधारणले ओली शासनको विकल्प खोजेका छन् । सम्माननीय प्रधानमन्त्रीको हैसियतमा सिंहदरबारमा विराजमान भए पनि ओलीविरुद्ध जनता र सडकको आक्रोश चरम चुलीमा पुगेको छ । अहिले प्रधानमन्त्रीको पुतला दहन र देश छोडको नारा सामान्य बन्दा यसलाई उनले सामान्य वा अराजकताको शब्दवाणले टार्न खोजे पनि जनआक्रोश बढेको तथ्यलाई नकार्न सक्ने अवस्था छैन ।
देश परदेश सबैतिर लखेटिने वातावरण बन्दा सुरक्षा हैरानीसमेत उत्तिकै बढेको छ । अर्कोतर्फ यही बेला सडक खाली छैन । शिक्षक, चिकित्सक, सहकारी र लघुवित्त पीडित, राजावादी, गुठी पीडित लगायतका आन्दोलनले सडक कोलाहलपूर्ण बनेको छ । संयोग नै मान्नुपर्छ यसअघि पनि ओली नै प्रधानमन्त्री भएका बेला यस्ता आन्दोलनको आँधीबेहरी चलेको थियो । यी परिदृश्यले समेत जनता र सडकले ओलीको विकल्प खोजिरहेको प्रष्ट हुन्छ ।
२. एमालेमै खोजियो विकल्प
जनतालाई एकछिनका लागि पर राखिदिउँ स्वयं एमालेमै पनि ओलीको पक्षपोषण खुलेर गर्नसक्ने अवस्थामा नेताहरु छैनन् । अर्कोतर्फ कुनै समय ओली बा आई लभ यू भन्दै भाषण सुन्न लालाहित हुने जनता नै अहिले उनलाई सुन्न भन्दा कान थुन्नमा मज्जा लिइरहेका छन् । मंगलबार सिरहामा सरकारी ढुकुटीबाट इन्धन खर्च गरेर कार्यकर्ता ओसार्दा समेत ओलीको भाषण नसुनी उनीहरु हिँडे । यसले ओलीसँग स्वयं उनकै कार्यकर्ताको नैराश्यताको हत देखाएको छ ।
अर्कोतर्फ अहिले ओलीका कारण सिंगो एमालेकै ड्यामेज भइरहेको अवस्थामा कन्ट्रोल गर्न विद्या भण्डारीले आक्रामक सक्रियता बढाएकी छन् । हालसालै मात्र बालुवाटारमा ओली–विद्याबीच भेट भएको थियो ।
ओलीको सहमतिमै एमालेको नेतृत्व लिन अग्रसर भइरहेकी उनलाई ओलीले ११ औँ महाधिवेशनमा अध्यक्षमा सघाउन र पछि सर्वसम्मतीमै अध्यक्ष वा प्रधानमन्त्री रोजेको दिन तयार रहेको बताएको स्रोतको भनाइ छ । एमालेको एक पक्ष लामो समयदेखि ओली नेतृत्वको बहिर्गमन चाहिरहेको छ । सबै कम्युनिस्ट शक्तिसमेत मिल्ने भएकाले विद्या त्यो पात्र भएको भन्दै सो पक्षले उनलाई नै उचालिरहेको छ । अहिले भने विद्या आफैँ फिल्डमा उत्रिएकी छन् ।
३. कांग्रेस
ओलीको विकल्प खोजिरहेको अर्को पक्ष हो कांग्रेस । जसले अहिले ओली नेतृत्वमा सरकारले नतिजा दिन नसकिरहेको वकालत गरिरहेको छ । यतिसम्म कि सुरुमा ओलीको टिममै बसेर काम गरेका महामन्त्री गगन थापाले समेत सरकारको कामको गतिमा प्रश्न उठाइरहेका छन् ।
यसको अर्थ सत्ता सहयात्री कांग्रेससमेत ओलीको कार्यशैलीबाट सन्तुष्ट छैन । कुलमान हटाउनेदेखि पूर्वराजाको पासपोर्ट रद्द गर्नेसम्मका विषयमा मन्त्रिपरिषद्मै कांग्रेस र एमालेको फरक–फरक कित्ता देखिएका थिए । ओली हटे धेरै हदसम्मको असन्तुष्टि र जनआक्रोश कम हुने लाइनमा कांग्रेस छ । उसो त माओवादी अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पटक पटक शेरबहादुर देउवालाई भेटेरै सरकारको नेतृत्व गर्न समेत आग्रह गर्दै आएका छन् ।
४. राजावादी जमाद
ओलीको विकल्प खोजेको अर्को पक्ष हो राजावादी दल र समर्थक पनि । व्यवस्था विरोधी आन्दोलनलाई ओलीकै केही कदमहरुले थप मलजल गरिरहेको अर्थमा उनीहरुले हेरेका छन् । शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गराउने, दबाउने र कार्यकर्तालाई प्रतिकारको निर्देशन दिनेजस्ता उनका गतिविधि राजावादीहरुलाई मन परेको छैन । अर्थात अहिले राजाको बुद्धीको समर्थनभन्दा ओलीको कुबुद्धिको विरोध भइरहेकोमा दुईमत छैन । उनले सञ्चालन गरेको सत्ता र सुशासनले राजावादीलाई थप उक्साइरहेको छ ।
५. भारत फ्याक्टर
ओलीलाई नरुचाएको अर्को फ्याक्टर हो भारत । हालै बैंककमा भएको ओली–मोदी भेटपछि उनीहरुको सम्बन्धमा आइसब्रेक भएको धेरैले टिप्पणी गरे पनि भेट त्यति सौहार्द नभएको बुझ्न सकिन्छ । ४५ मिनेटको सो भेट दुई पक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनेभन्दा पनि पुरानै तिक्तताको सवालजवाफमा केन्द्रित रहेको बुझ्न सकिन्छ । जहाँ राम नेपालमा जन्मिएका हुन् भन्दै आएका ओलीलाई मोदीले जय श्री राम लेखिएको गम्छा प्रयोग गरेरै राममाथि ओलीको दाबीमा जवाफ दिएको अर्थमा धेरैले बुझेका छन् । ओलीले नेपाल आएपछि दिएका अभिव्यक्तिले पनि उनीमाथि भारतको दबाब कायम रहेको बुझ्न समस्या छैन । अहिले नेपाल–भारत सम्बन्ध बिग्रिएको नभई ओली–मोदी तिक्तताकै कारण समग्र कुटनीति धुमिल भएको टिप्पणी भइरहेको छ ।
प्रतिक्रिया