भारत निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी लिगका कार्यकर्ता र समर्थकहरूलाई सम्बोधन गरेकी छन् । यस क्रममा उनले बंगलादेशको राजनीतिमा फर्कने संकेतसमेत गरेकी छन् ।
बाङ्ग्लादेशमा गत जनवरी महिनामा भएको निर्वाचनबाट शेख हसिना देशको प्रधानमन्त्री चुनिएकी थिइन् । सरकारी जागिरमा आरक्षणको विषयप्रति प्रश्न उठाउँदै विद्यार्थीहरूले थालेको आन्दोलन चर्किएपछि उनले अन्ततः पदत्याग गर्नुप¥यो । यो उनको पाँचौँ कार्यकाल थियो । यद्यपि उनको सरकार एक वर्ष पनि टिक्न सकेन । उनी राजीनामा दिएर विदेश पलायन हुन बाध्य भइन् ।
अहिले हसिना भारतको शरणमा छिन् । भारतका लागि बाङ्ग्लादेश छिमेकी मुलुक मात्रै होइन, रणनीतिक साझेदार र निकटको सहयोगी पनि हो । सन् १९९६ मा पहिलो पटक निर्वाचित भएदेखि नै हसिनाले भारतसँग निकट सम्बन्ध राखेकी थिइन् । हसिनाले सधैँ दिल्लीसँग ढाकाको निकट सम्बन्धको महत्त्वमा जोड दिँदै आएकी छन् । भारतको शरणमा रहेकी हसिनाले बेलाबेलामा अहिलेका सरकार विरोधी अभिव्यक्तिसमेत दिँदै आएकी छन् । हिंसात्मक आन्दोलनपछि देश छाडेर भागेकी हसिना बंगलादेशको राजनीतिमा नफर्किने उनका छोराले यसअघि नै बताएका थिए । तर पछिल्लो समय फेरि हसिनाले बंगलादेशको राजनीतिमा फर्कने संकेत गरेकी छन् ।
अपदस्थ प्रधानमन्त्री हसिनाले मंगलबार आफ्नो पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाउने धम्की दिनेहरूलाई चेतावनीसमेत दिएकी छन् । यसअघि पनि हसिनाले अनलाइन माध्यमबाट आफ्ना पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आएकी थिइन् । ‘कसैले पनि बिर्सनु हुँदैन कि बंगबंधु शेख मुजीबुर रहमानले अवामी लिगमार्फत बंगालका जनतालाई एकताबद्ध गरेका थिए र देशमा स्वतन्त्रता ल्याएका थिए’ हसिनाले आफ्नो सम्बोधनमा भनेकी छन् ।
सम्बोधनमा बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसलाई पनि निसाना बनाइन् । युनुससँग देश चलाउने कुनै संवैधानिक आधार वा जनादेश नभएको उनको तर्क थियो । मोहम्मद युनुसले विदेशी कोष प्रयोग गरेर सुनियोजित योजनामार्फत सत्ता प्राप्त गरेको आरोपसमेत हसिनाले लगाएकी छन् । शेख हसिनाले भनिन्, “युनुसको वास्तविक अनुहार अब विश्वका जनतासामु उजागर भएको छ ।’
मानिसहरूले उनी कति भ्रामक, भ्रष्ट र आतंककारी हुन् भनेर बुझिसकेका छन् । वास्तवमा, उनी कुनै जनआन्दोलनबाट होइन, एउटा धूर्त षड्यन्त्रबाट सत्तामा आएको आरोप हसिनाले लगाएकी छन् । हसिनाले भनिन्, ‘उनीहरूले यो सोच्नु हुँदैन कि म सबै कुरा छोडेर देश बाहिर गएकी हुँ । संविधान अनुसार, जनताको निर्वाचित प्रतिनिधि र संसद सदस्यहरूले छनोट गरिएको उम्मेदवारको रूपमा म बंगलादेशको प्रधानमन्त्री हुँ । उनीहरूको सत्ताको कुनै वैधता छैन ।’ शेख हसिनाको यो भनाइप्रति बङ्गलादेशबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
देश नै छोडेर भारतको शरणमा रहेकी हसिनाले पछिल्लो समय दिएको अभिव्यक्तिले फेरि हसिना बंगलादेश फर्किन चाहेको संकेत गरेको छ । एकातर्फ बङ्गलादेशको अन्तरिम सरकारले इन्टरपोललाई ‘रेड कर्नर नोटिस’ जारी गर्दै पक्राउ गर्न अनुरोध गरेको छ । पूर्वप्रधानमन्त्री हसिना अपदस्थ हुने गरी बङ्गलादेशमा विद्यार्थी नेतृत्वको आन्दोलन भएकोमा प्रहरीले गरेको कारबाहीमा ७ सयभन्दा धेरैको ज्यान गएको थियो । आन्दोलन चर्किएको समयमा हसिना देश छाडेर भाग्न बाध्य भएकी थिइन् ।
हसिना र अन्य अवामी लिगका नेताहरूमाथि जुलाई र अगस्टमा भएको विरोधलाई दबाउन प्रहरीलाई आदेश दिएको आरोप छ । नयाँ अन्तरिम सरकारले हसिनामाथि मानवताविरुद्धको अपराध गरेको आरोपसमेत लगाएको छ । पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध देशमा हत्या, अपहरण र मानवअधिकार उल्लंघनका गम्भीर मुद्दाहरू चलाइएको छ । आरक्षण विरोधी आन्दोलनका क्रममा भएको हिंसामा सयौंको मृत्यु र दमनको आरोप उनमाथि छ ।
युद्ध अपराध न्यायाधिकरणले उनलाई फिर्ता ल्याउन कानुनी प्रक्रिया अघि बढाएको छ । स्वदेश फर्कदा उनलाई गिरफ्तारी, मुद्दा सामना, र राजनीतिक प्रतिशोधको चुनौती छ । भारतमा शरण लिएकी हसिनाको प्रत्यर्पणमा कूटनीतिक जटिलता र राजनीतिक संरक्षणको अभावले स्थिति थप कठिन बनाउँछ । उनको अवामी लिगमाथि प्रतिबन्धको माग र जनआक्रोशले पनि स्वदेश फर्कन उनका लागि जोखिम रहेको अवस्थामा राजनीतिमा उनको पुनरागमन कुन ढंगले हुन्छ ? र त्यसको अवतरण कसरी हुन्छ ? हुने छ भन्ने विषयमा अहिले अन्योल कायमै छ । यसका लागि आगामी दिनहरुले थप निर्धारण गर्नेछ ।
प्रतिक्रिया