Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

अब रबि जनताको घरदैलोमा, जनयात्राबाटै कांग्रेस–एमालेसँग भिड्ने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने झण्डै साढे ५ महिनापछि सक्रिय राजनीतिमा फर्किएका छन् । आक्रामक पुनरागमनको सुरुवात गरेका लामिछानेले पार्टीको पुरै संरचना बदल्ने तयारी गरिरहेका छन् । उनको आगमनले पार्टीसँगै राष्ट्रिय राजनीतिमा अब कस्तो प्रभाव पार्ला ? चासोको विषय बनेको छ ।

झण्डै साढे ५ महिनापछि सक्रिय राजनीतिमा फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आक्रामक पुनरागमन गरेका छन् । सहकारी प्रकरणले डामिएपछि ३ मिनेटभन्दा बढी नबोलेका, समय आएपछि बोल्ने बताएका र रिहापछि पनि गुमनाम बनेका उनै लामिछाने गएको सोमबारदेखि आक्रामक रुपमा पार्टीको जिम्मेवारीमा फर्किएका हुन् । बोलेरै उदाएका लामिछानेले झण्डै साढे पाँच महिनासम्म मनको बह गुम्साएर राखेका थिए । तर सोमबार पार्टी केन्द्रीय कार्यालय बालाजुमा ३० मिनेटभन्दा बढी बोलेर मनका सबै भडास पोखे ।

मनको भडास पोख्दै हलुका भएका लामिछाने राज्यले गरेको प्रतिशोधलाई शक्तिमा रुपान्तरण गर्ने रणनीतिमा छन् । राजावादी र गणतन्त्रवादी दलहरुको विकल्प रास्वपा रहेको अथ्र्याएका उनले राजालाई विश्वास गरेर नभई शीर्ष नेतालाई दण्डित गर्ने उद्देश्यले जनता सडकमा आएको दाबी गरेका छन् । राजावादीलाई रास्वपाले समर्थन गरेको आक्षेप खेपिरहेका बेला लामिछानेको यो भनाइले कित्तासमेत क्लियर हुँदा उनी अब जुनसुकै शक्तिसँग लड्दै र नेता कार्यकर्तालाई साथै लिएर गुमेको रास्वपाको साख फर्काउने कोसिसमा हिँड्दैछन् ।

दलहरुको प्रतिशोधले आफू झनै बलियो बनेको बताएका उनले अब पार्टीको सुदृढीकरणका लागि यही शनिवारदेखि चितवनमार्फत जनयात्रा सुरु गर्दैछन् । सहकारी प्रकरणले डामिएपछि कोमामा पुगेको रास्वपा अब देशव्यापी रुपमा जनयात्रामार्फत गुमेको साख फर्काउन चाहान्छ । देशमा भ्रष्टाचार, कुशासन र गलत गतिविधिविरुद्ध खबरदारी गर्दै सत्ताधारी दलहरुलाई कि त सच्चिन कि त सक्किन चुनौती दिन रास्वपाले अब दलहरुप्रतिको वितृष्णालाई मुद्दा बनाउँदै जनतामाझ जाने भएको हो । यद्दपि पुराना होस् या नयाँ दलहरुको रबैयाले दिक्क बनेका जनताले रास्वपालाई अब कसरी लिन्छन् त्यो भने हेर्न बाँकी छ ।

पार्टीभित्रको संरचनालाई व्यापक फेरबदल गर्न लागिपरेका उनी गाउँगाउँमा पुगेर जनतालाई विश्वासमा लिन चाहन्छन् । तर परम्परागत राजनीतिक दलहरूलाई चुनौती दिँदै वैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा पछिल्लो समय सहकारीसहित विभिन्न प्रकरणमा शीर्ष नेता मुछिँदा ओरालो यात्रामा छ । दोस्रोपटक पनि जनमत विपरीत कदम उठाउँदै सत्तामा गएपछि इलामको उपनिर्वाचनमा रास्वपालाई जनताले ठूलो झट्का दिएका थिए । पटक–पटक जनतासामू गरेका बाचा भुल्दै सत्ताको ललिपपमा रमाएको रास्वपालाई जनताले फेरि सहजै विश्वास गर्छन् भन्नेमा शंका गर्ने ठाउँ छ ।

त्यसो त गएको सोमबारै सभापति लामिछानेले अब पार्टीको संरचनामा व्यापक फेरबदल ल्याउने उद्घोष गरेका थिए । यहीबीचमा, पछिल्लो समय उपसभापति डा.स्वर्णिम वाग्लेसँग लामिछानेको सम्बन्ध बिग्रिएको चर्चा छ । वाग्ले केन्द्रीय समिति बैठक र सभामुख देवराज घिमिरेसँगको भेटमा समेत नदेखिएपछि उक्त आशंकामा बल पुगेको छ । लामिछानेको ४ सहकारीको मुद्दा अहिले विचाराधीन अवस्थामा छ । अझ पर्साको मुद्दा अदालतमासमेत नपुगेको अवस्थामा लामिछानेले सहकारी मुद्दाबाट तत्काल छुट पाउन सक्ने देखिँदैन । यहीबीचमा ठूला दलहरुको तगारो बनेको रास्वपालाई कमजोर पार्न फेरि षड्यन्त्र र विभिन्न विवाद नहोलान् भन्न सकिँदैन । यस्तो अवस्थामा आक्रामक रुपमा अघि बढेको रास्वपाले ठूला दलहरुको चुनौतीसँग जुध्दै आफूलाई कसरी सशक्त बनाउँछ ? चासोपूर्वक हेरिएको छ ।।