Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

‘हिंडौं कीर्तिपुर’ अन्तर्गत प्लास्टिक मेला सम्पन्न


स्थानीय समुदायको सहभागिता तथा पर्यावरणीय सचेतनालाई प्रवद्र्धन गर्न आयोजित ‘हिँडौं कीर्तिपुर’ अन्तर्गत प्लास्टिक मेला कीर्तिपुरमा सम्पन्न भएको छ ।

प्लिज प्रोजेक्ट अन्तर्गत एकीकृत शहरी विकास केन्द्रको आयोजनामा प्लास्टिक मेला सम्पन्न भएको हो । हरेक हप्ताको शनिबार दिउँसो ३ बजेपछि गाडीमुक्त वातावरणमा स्थानीयहरू रमाउन पाउने उद्देश्यले सञ्चालन भइरहेको यस अभियान यसपटक विशेष महत्वका साथ आयोजना गरियो ।

एकीकृत शहरी विकास केन्द्रले कीर्तिपुर नगरपालिकासँगको सहकार्यमा कीर्तिपुर गाइड एसोसिएसन, स्थानीय क्लबहरू, वडा स्तरका नागरिक सञ्जालहरू तथा महिला समूहहरूसँग मिलेर प्लास्टिक फोहर व्यवस्थापन, उपभोग सचेतना, सुरक्षित तथा सफा संकलन प्रणाली प्रवद्र्धन गर्ने उद्देश्यले यो मेला आयोजना गरेको हो । यस मेलामा ब्लु वेस्ट टु भ्यालु, क्लिन इट अपसाइक्लर्स, नेहा ह्यान्डिक्राफ्ट्स, होम नेट, स्थानीय महिला समूह, प्लास्टिक केयर एंटरप्राइज लगायतका संस्थाहरूले प्लास्टिकजन्य सामग्रीको पुनःप्रयोग तथा हस्तकला प्रदर्शन गरे । साथै दीगो नेपालद्वारा प्लास्टिकको विकल्प प्रस्तुत गरियो ।स्थानीय कला, संस्कृति, र परम्परागत खानाको प्रवद्र्धन गर्दै वातावरणीय दिगोपनलाई प्रोत्साहित गर्न स्थानीय युवाहरूले परम्परागत बाजागाजा बजाउँदै सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

मेलामा एक हजारभन्दा बढी सहभागी भएको आयोजकले जनाएको छ । जसमा काठमाडौँका स्थानीय बासिन्दा, विदेशी पर्यटक तथा आयोजकहरूले आमन्त्रण गरेका विशेष अतिथिहरू सहभागी भएका थिए । उनीहरूले प्लास्टिकको प्रयोगबारे जानकारी लिएका थिए । यस्तै ‘ट्रेजर हन्ट’ प्रतियोगितामा भाग लिएका थिए । प्लास्टिक रिसाइक्लिङ र अपसाइक्लिङका सम्भावित उपयोगहरू, प्लास्टिक जलाउनु, पुरिदिनु वा जथाभावी फ्याँक्नुको हानीबारे जानकारी लिएका थिए ।

कीर्तिपुर नगरपालिकाका मेयरले स्थानीय बासिन्दाहरूको पहिचान जगेर्ना गर्ने, पर्यटन प्रवद्र्धन गर्ने तथा परम्परागत परिकारहरूको पुनरुत्थान गर्ने प्रयासको प्रशंसा गर्दै प्लास्टिक फोहोर न्यूनीकरण गर्न यो पहल अन्य नगरपालिकाहरूका लागि उदाहरणीय बन्न सक्ने बताए । साथै, कीर्तिपुरका अन्य वडाहरूमा ‘प्लास्टिक व्यवस्थापन गरिएका समुदाय’ विस्तार गर्ने उनले इच्छा व्यक्त गरे ।

सीआईयुडीका कार्यकारी निर्देशक नविन विकास महर्जनले प्लास्टिकको सम्पूर्ण चक्रिय अर्थतन्त्र (सर्कुलर इकोनोमी) अवधारणा कार्यान्वयन गर्ने सफलताको विषयमा विस्तृत जानकारी दिएका थिए । कार्यक्रमको सञ्चालन निर्जला महर्जनले गरेकी थिइन् भने कीर्तिपुर गाइड एसोसिएसनका उपाध्यक्ष वीरेन्द्र शाक्यले स्वागत मन्तव्य दिएका थिए ।