काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओली नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे संसद्मा बोल्न तयार भएका छन् । एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार यही चैत १८ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।
यो सँगै संसद्को गतिरोध अन्त्य हुने विश्वासमा आफूहरू रहेको उनले बताए । विपक्षी दलहरूले घिसिङको बर्खास्तीको विषयमा प्रश्न उठाउँदै आएका छन् । यो विषयमा प्रधानमन्त्री ओलीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ । सत्तारुढ दलका नेताहरूका अनुसार सदन नचल्दा प्रतिस्थापन विधेयक अगाडि बढ्न नसक्ने भएपछि प्रधानमन्त्र ओली संसद्मा जवाफ दिन तयार भएका हुन् ।
सरकारले संसद् अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । त्यसमध्ये ५ वटा अध्यादेश दुवै सदनबाट स्वीकृत भएर अगाडि बढेको छ । ५ वटा अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको छ ।
राष्ट्रिय सभाको बैठक समेत अवरुद्ध हुँदा विधेयक अगाडि बढाउन सरकार र संसदलाई अप्ठ्यारो परेको थियो । किनभने अध्यादेश प्रतिस्थापन विधेयक सदनबाट पास गराउनका लागि केही दिन मात्रै बाँकी छ । संघीय संसदको चालू अधिवेश नगत माघ १८ गतेबाट सुरुआत भएको थियो । त्यसको ६० दिनभित्र अध्यादेश दुवै सदनबाट स्वीकृत भएर, विधेयक आएर, पारित भएर र प्रमाणीकरण भएर ऐनमा रुपान्तरित भइसक्नुपर्छ ।
प्रतिक्रिया