सिरहाको औरही गाउँपालिकामा महायज्ञका नाममा दलित परिवारको घर भत्काएर उठीबास गराइएको घटनाले राष्ट्रिय राजनीति तरंगित बनेको छ । यो घटनाले सडक र सदन नै तात्तिएको छ ।
झट्ट सुन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ । तर सिरहाको यो घटना सत्य हो । महायज्ञ गर्न दलितको घरमा डोजर चलाइएको छ । धर्मको नाममा दलित परिवारको उठीबास लगाइएको हो ।
सिरहाको औरही गाउँपालिका पाँच औरहीस्थित हुलाकी सडक छेउमा चैत्र १७ गतेदेखि सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मलिक डोमको घर भत्काइयो । महायज्ञस्थल नजिक दलित परिवारको घर हुँदा ‘अपवित्र’ हुने भन्दै बजरंगी बाबाको निर्देशनमा डोम परिवारलाई स्थानान्तरण गर्ने भन्दै डोजर चलाइयो ।
यो घटनाअघि फागुन ११ गतेको मिति राखेर जबरजस्ती ‘स्वेच्छाले घर भत्काएको’ सहमति पत्रमा हस्ताक्षर गराएर फागुन १० गते डोजर चलाइएको पनि खुल्न आएको छ । यतिसम्म कि महायज्ञस्थल वरपर दलित समुदायले हिँड्डुल गर्न नहुने भन्दै उनीहरुको घर भत्काएर घर भएको जग्गाको माटोसमेत खनेर फालिएको छ । उक्त घटना सार्वजनिक हुनासाथ सडक–सदन तात्तिएको छ । सिरहामा दलित बस्तीमा डोजर चलाइएको, जातीय विभेद नरोकिएको भन्दै दलित अभियन्ताहरुले शुक्रबार काठमाडौंमा अर्धनग्न भएर विरोध प्रर्दशन नै गरेका छन् । यसक्रममा निषेधित क्षेत्र तोड्न खोज्दा प्रर्दशनकारी र प्रहरीबीच धकेलाधकेल कै अवस्था सिर्जना भयो । प्रर्दशनकारी घेरा तोडेर संसद भवन छिर्न खोज्दा प्रहरीले बल प्रयोग गर्नु परेको हो ।
यस्तै संघीय संसदको दुवै सदनमा यस घटनाले प्राथमिकता पाएको छ । उक्त घटनाको विरोधसँगै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । घटनामा संलग्नहरुलाई कारबाही गर्न सांसदहरुले सरकारसँग माग गरेका छन् ।
अछुत भन्दै त्यहाँबाट हटाइएका मलिक परिवार अहिले गाउँकै एकान्तमा रहेको सामुदायिक विद्यालयको जग्गामा अस्थायी टहरा बनाएर बसेको छ । घटनामा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादव, आयोजक बजरंगी बाबा र पूर्ववडाध्यक्ष दिलीप यादव फरार छन् । छानबिन गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन समेत दिइसकेको छ । यो घटनापछि सिरहाका सिडिओ बासुदेव दाहाललाई पनि गृह मन्त्रालयमा तानिएको छ ।
जातीय विभेदलाई कानुनी रुपमै हटाएर दण्ड सजायको समेत व्यवस्था हुँदा पनि धर्मको नाममा अझै पनि समाजमा यस्ता कुरीति तथा अन्धविश्वास कायमै रहेको सिरहाको पछिल्लो घटनाले देखाएको छ । अतिवादी सोचका कारण अझै पनि सीमान्तकृत, पिछडिएको वर्ग तथा दलित समुदायले भोग्नु परेको पीडाप्रति राज्य गम्भीर बन्नु पर्ने आवश्यकता देखिएको छ । कानुनले नै बर्जित गरेका कुरीति र अन्धविश्वासका पछि लाग्नु स्वयम धर्म गुरु तथा धर्मप्रति आस्था राख्नेहरुकै लागि लज्जित बनाउने घटना हुन् । जसलाई राज्यले कडाइका साथ आवश्यक कदम चाल्न जरुरी देखिन्छ ।
प्रतिक्रिया