Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

प्रहरीका कमान्डर बनेपछि IGP थापा, ६ महिनाको अवसर


छोटो समयका लागि प्रहरी महानिरीक्षक बनेका दीपक थापा प्रहरी प्रमुखको कुर्सीमा ६ महिना मात्रै बस्न पाउने छन् । रोल क्रमले नै आईजीपीमा बढुवा भएसँगै थापामाथि नागरिकसँगको सम्बन्धमा सुधार ल्याउने जिम्मेवारी पनि थपिएको छ । यसका साथै समय समयमा विभिन्न कारणले विवादमा आइरहने सङ्गठनलाई राजनीतिक हस्तक्षेपबाट बचाउने चुनौती पनि उनकै काँधमा आइपुगेको छ ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको ३१औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेका दीपक थापालाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । मङ्गलबार बिहान गृह मन्त्रालयमा एक समारोहका बीच गृहसचिव गोकर्णमणि दुवाडीले नवनियुक्त आईजीपी थापालाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् । यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख रहेका थापाले अब प्रहरीको कमाण्ड सम्हालेका छन् ।

प्रहरीको ३१औँ आईजीपीमा नियुक्त भएका थापाले २०५२ भदौ १९ गतेदेखि प्रहरीमा सेवा सुरु गरेका थिए । जसक्रममा नेपाल प्रहरी स्कुल साँगा, प्रहरी स्कुल दीपायल, इलाका प्रहरी कार्यालय मैकोट रुकुम, इलाका प्रहरी कार्यालय कात्तिके देउराली र प्रहरी प्रधान कार्यालयको कर्मचारी शाखामा रहेर काम गरेका थिए ।

११ वर्षसम्म एउटै पदमा बसेर काम गरेका उनी २०६३ भदौ ८ गते डीएसपी बने । डीएसपी हुँदा जिल्ला प्रहरी कार्यालय खोटाङसँगै मोरङ, सुनसरी, मकवानपुरको प्रमुख, इलाका प्रहरी कार्यालय बुटवल, हेडक्वार्टरको कर्मचारी प्रशासन शाखा, प्रधानमन्त्री सुरक्षा कार्यालय बालुवाटार, प्रहरी वृत्त महाराजगञ्जको कमान्ड सम्हालेका उनले एसपीमा बढुवा हुन नौ वर्ष कुर्नु प¥यो । २०७२ साल साउन ८ मा एसपी बन्दा चितवन जिल्ला प्रमुख, प्रहरी प्रधान कार्यालयको बजेट शाखा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल प्रमुख भएर काम गर्ने अवसर प्राप्त गरे ।

साढे तीन वर्षपछि अर्थात् २०७५ फागुन ६ मा एसएसपीमा बढुवा भएका उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख, प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखा प्रमुख, वृत्ति विकास महाशाखा र प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा काम गरेका छन् । २०७९ असार १७ गते डीआईजी हुँदा उनीसँग बाग्मती प्रदेश प्रहरी प्रमुख, प्रबन्ध निर्देशनालय प्रमुखको कमान्ड सम्हालेको अनुभव छ ।

डीआईजी भएको नौ महिनाको अन्तरालमा नै थापा एआईजीमा बढुवा भएका थिए । ०७९ सालकै चैत ८ गते छोटो समयमै एआईजी बनेपछि उनले उपत्यका प्रहरी कार्यालयसँगै सबैभन्दा आकर्षक कार्यालय सीआईबीको कमाण्ड सम्हाल्ने मौका पाए । प्रहरी सङ्गठनमा आफ्नो साढे २९ वर्षको लामो अनुभव बटुलेका थापा पहुँचको नभई पद्धतिको थिति बसाल्ने मनस्थितिमा छन् । देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाएर नागरिकमा अमन चयन र कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने उनको दाबी छ ।

संयुक्त राष्ट्रसङ्घीय मिसनअन्तर्गत सुडान र लाइबेरियामा पनि सेवा गरिसकेका थापाले नेपाल प्रहरीको श्रीवृद्धि गराउँदै मुलुकको शान्ति, सुरक्षा, सुव्यवस्था, सुशासन र अमन चयन कायम गरी सुखी नेपाली र समृद्ध नेपालको लक्ष्यका लागि काम गर्नु पर्ने छ । ३० वर्षे सेवा हद कारण छ महिनाका लागि मात्रै प्रहरी प्रमुखको जिम्मेवारीमा पुगेका उनले आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक, इमान्दारिताका साथ पूरा गर्न आवश्यक देखिन्छ ।

सडक, सदन र हरेक नागरिकको सुरक्षाको जिम्मा लिएको प्रहरी संगठनको चुनौती कम छैन । नवनियुक्त महानिरीक्षक थापाले नेपाल प्रहरीको कमान्ड सम्हाल्दै गर्दा संगठनमा चल्दै आएका त्यस्ता अनेकन चुनौतीको पनि सामना गर्नु पर्ने देखिन्छ । केही प्रहरीको कार्यशैलीबाट सिंगो संगठन नै बद्नाम र आलोचित हुने गरेको छ भने आम नागरिकसँग बढ्दै गएको दूरीलाई निकट ल्याउन र प्रहरीको इमान्दारिता र सक्रियतामा विश्वास दिलाउन उनीमाथि ठूलो चुनौती छ । राजनीतिक सन्तुलन मिलाएर कार्यसम्पादन गर्ने छवि बनाएका थापा सङ्गठनमा तुलनात्मक रूपमा नरम स्वभावका प्रहरी अधिकारीका रूपमा परिचित छन् । त्यसैले प्रहरीको वृत्ति विकासका साथै, आन्तरिक स्रोत साधनले कमजोर सङ्गठनलाई सुदृढीकरण गर्ने जिम्मा पनि उनकै काँधमाथि आएको छ ।

ज्येष्ठता, कार्यदक्षता र कार्यसम्पादनको आधारमा नयाँ प्रहरी महानिरीक्षक बनेका थापाको कार्यकाल २०८२ भदौ १८ सम्म करिब ६ महिना मात्र रहेको छ । प्रहरी सङ्गठनको ३० वर्षे सेवा अवधि नहटेको खण्डमा थापा आगामी भदौमै अवकाशमा जाने छन् । तर, गृह मन्त्रालयले प्रहरी सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ । प्रहरीको ३० वर्षे सेवाअवधि हटाउनेबारेको विधेयक संसद्मा पुगिसकेको हुँदा उक्त विधेयक सदनबाट पारित भइ कार्यान्वयनमा आएको खण्डमा भने थापाको कार्यकाल छ महिना थपिने सम्भावना पनि जीवितै छ ।