Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

६ दिनदेखि भारतमा के गर्दैछिन् आरजु ? एमाले किन तर्सियो ?


परराष्ट्रमन्त्री आरजु राणा देउवा विगत ६ दिनदेखि भारतमा छिन् । उनी राइसिना डाइलगमा सहभागी हुन दिल्ली गए पनि यही अवसरमा भारत र नेपालबीचको चिसिएको सम्बन्धलाई सुमधुर बनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको वातावरण बनाउनु नै मुख्य उद्देश्य रहेको अर्थमा हेरिएको छ । तर आरजु मन्त्री बनेको आठ महिनामा यो उनको तेस्रो औपचारिक भारत भ्रमण हो । साथै यो भ्रमणले वर्तमान कांग्रेस एमाले सत्ता गठबन्धनले निरन्तरता पाउने वा नयाँ समीकरण बन्ने भन्नेसम्मको निर्धारण गर्ने विश्लेषण भइरहेको छ ।


विगत ६ दिनदेखि परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतमाडेरा जमाएर बसेकी छन् । यस पटक आरजुको भारत भ्रमण राइसिना डाइलगमा सहभागी हुने भनिए पनि उद्देश्य भने प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको वातावरण बनाउनु रहेको देखिन्छ । त्यसो त परराष्ट्रमन्त्रीको हैसियतमा आरजुको यो तेस्रो भारत भ्रमण हो । पहिलो भ्रमणमा राजकीय सम्मान पाएकी आरजुले दोस्रो पटक दिल्ली पुग्दा अपमानित हुनु प¥यो भने तेस्रो पटकको भ्रमणमा बेवास्ताको सामना गर्नु परेको छ । नेपालीमा एउटा उखान छ, ‘एक दिनको पाहुना मिठो मिठो खा, दुई दिनको पाहुना जसो तसो खा, तीन दिनको पाहुना जतासुकै जा’ ।

आरजुको भारत भ्रमणको सवालमा पनि यस्तै हुन पुगेको छ । तर अड्डी कसेर दिल्लीमा रहेकी परराष्ट्रमन्त्रीआरजु जसरी पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेर दुई देशबीच चिसिएको सम्बन्ध सुधार गर्ने र प्रधानमन्त्री ओलीको भारत भ्रमणको वातावरणबनाउन भगीरथ प्रयासमा छिन् । परराष्ट्रमन्त्री राणा भारतीय प्रधानमन्त्री मोदीलाई रिझाउन हदै सम्मको प्रयासमा रहेको बुझिएको छ । आरजुको यो ६ दिन अर्थात करिब १४४ घण्टा केमा व्यस्त भइन् ? नेपालका साथै भारतका मिडिया पनि बेखबर देखिन्छन् ।

तर उनी आन्तरिक रणनीतिमा व्यस्त रहेको बुझिएको छ ।पहिलो पटक मन्त्री बनेकी राणाको हाल अग्निपरीक्षा चलिरहेको छ ।आरजुकै जोडबलमा बनेको वर्तमान एमाले कांग्रेस गठबन्धन सरकारको प्राण पनि आरजु मै निर्भर रहेको अर्थमा धेरैले बुझ्ने गरेका छन् । राजनीतिक विश्लेषकहरुप्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि सयौँ पटक आग्रह गर्दा पनि बेवास्ता गरिनुले नेपालको हैसियत र औकात उदांगिएको बताउँछन् । यो हदसम्म भारतसँग लम्पसार पर्दा पनि उसले कुनै प्रतिक्रिया र चासो नदिनु वर्तमान सरकार र सिंगो राष्ट्रको अपमान भएको उनीहरुको तर्क छ ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले परराष्ट्रमन्त्री राणाभारतले आयोजना गरेको राइसिना डाइलगमा १५ मिनेट बोल्नका लागि ६ दिनदेखि कुरेर बसेको भन्दै कटाक्ष गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यसरी कटाक्ष गरेका हुन् । रिजालले आरजुलाई लोकलाजको ख्याल गर्न पनि सुझाव दिएका छन्।भारत र चीनले समकक्षीसँग छलफल गर्दा कति महत्व दिन्छन् भन्ने यसैबाट प्रस्ट हुने रिजालको भनाइ छ।

‘देशभित्र काम कति गर्नुहुन्छ भन्ने त थाहै छ, तर दुनियाँले के भन्छ भनेर लोकलाजको त अलिकति ख्याल गर्नुपर्ने हो’ उनले भनेका छन् । ‘यस्ता परराष्ट्रमन्त्रीहरूले भारत र चीनका समकक्षीहरूसँग कुरा गर्दा कत्तिको समान हैसियत (इक्वायल फुटिङ)मा कुरा गर्दा हुन् र उनीहरूले कति महत्व दिँदा हुन् भन्ने यसैबाट स्पष्ट हुन्छ ।’ भन्दै परराष्ट्रमन्त्री राणाको खरो आलोचना गरेका छन् ।सत्तापक्षकै सांसदहरुले संसदमा सरकारको काम कारबाहीमा प्रश्न उठाएका छन् ।

सरकारको विषयमा विभिन्न प्रश्न उठ्दा मन्त्रीहरुले स्पष्ट पार्नु पर्नेमा मौन भएर बसेको, त्यसको खण्डन समेत नगरेका आरोप मन्त्रीहरु माथि छ । साथै कामको नतिजाको आधारमाअब मन्त्रीहरु पनि हेरफेरगर्नु पर्ने समय आएको भन्दै प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीको भ्रमणको मिति तय गर्ने अपेक्षासहित भएको परराष्ट्रमन्त्री राणाको भारत भ्रमण खल्लो हुने देखिएको छ । उनको अथक प्रयासका बाबजुद भारतको संस्थापन पक्षले उनलाई भेट्न इन्कार गरेको उच्च स्रोतले दाबी छ । परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री डा. एस जयशंकर, विदेश मन्त्रालयका सचिव विक्रम मिश्री र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेसँग भेट्न खोजेको बुझिन्छ ।

तर हालसम्म त्यो सम्भव भएको देखिँदैन ।पहिलो औपचारिक भ्रमण भारतबाट गर्ने ‘परम्परा’ तोडेर प्रधानमन्त्री ओली चीन भ्रमणमा गएको विषयलाई भारतले सहज रुपमा लिन सकेको देखिँदैन । जसका कारण हालसम्म ओलीको भारत भ्रमण तय हुन सकेको छैन भने त्यसको प्रतिकुल असर सरकारमा परेको देखिन्छ ।

फलतः परराष्ट्रमन्त्री राणाले संकटमा गुज्रिरहेको सरकारलाई जुरुक्कै उठाउने अचुक सन्जीविनी बुटी भारतबाट ल्याउँछिन् कि समीकरण नै फेरिने अवस्थाको खुराक लिएर आउँछिन् ? त्यो भने उनको नेपाल फिर्ती पछि प्रमाणित हुने छ ।