राजावादीको बढ्दो सक्रियताले राष्ट्रिय सहमतिको सरकार बहसमा रहँदा सत्ता र विपक्षी नै प्रष्टीकरणमा उत्रिएका छन् । भूराजनीतिक प्रभाव, आरजुको भारत भ्रमण र देशमा विकसित माहोल ओलीको नेतृत्व केन्द्रित भएको एकाथरीको बुझाइ छ । जसले कि त राजावादी र गणतन्त्रवादीबीच धुव्रीकरण या ओलीको नेतृत्व परिवर्तनको हल्ला चल्दा दलहरु त्यसको खण्डनमा लागेका छन् ।
राजावादीको बढ्दो सक्रियतामा दक्षिणको हात हुनसक्ने आकलनकाबीच सरकार परिवर्तनसम्मको विषय बहसमा छ । जहाँ बलियो सरकार भएर पनि काम देखाउन नसकेको तथा प्रधानमन्त्री केपी शर्माओलीसँग भारतको सम्बन्धले समेत यसमा भूमिका खेलेको एकाथरीको बुझाइ छ । फलतः बढ्दो आन्दोलनको उद्देश्य कहीँ कतै ओलीलाई गलाउन भएको चर्चासमेत रहँदा गणतन्त्रवादीहरु एक ठाँउमा उभिने बहससमेत छ ।
यही बीचमा १५ मिनेट सम्बोधनका लागि भारत पुगेकी परराष्ट्रमन्त्री आरजु राणा उतै हराएपछि एमालेका नेताहरु समेत शंशकित बनेका छन् । यता ओलीसँग टेलिफोन गरेपछि नै तराईमधेश केन्द्रित अभियान छाडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडाँै केन्द्रित भएका थिए भने कांग्रेस सभापति शेरबहादुर देउवासँग अब नयाँ ढंगले अघि बढ्नुपर्ने प्रस्ताव गरेको खबर समेत बाहिरिएको थियो । फलतः यसले कि त गणतन्त्रवादीहरुको धुव्रीकरण या त ओलीको नेतृत्व परिवर्तन हुनसक्ने आकलन शुरु भएको छ ।
यसबाहेक राष्ट्रिय सहमतिको सरकार अर्को विकल्प हुनसक्ने चर्चा चल्दा यसको गाँठो समेत सरकारको नेतृत्वमै पुगेर अड्किने सम्भावना छ । यसरी जताबाट पनि ओली नै तारो बन्ने अवस्था बनेपछि यसले सरकार परिवर्तनको सम्भावनालाई बलियो बनाएको हो । यता एमाले र माओवादीकै सांसदले राष्ट्रिय सहमतिको सरकारको सम्भावनाबारे बोल्नु र यही बीचमा एमालेबाटै मन्त्री परिवर्तनको चर्चा चल्नुले शंका अझ बढाएको हो । तर एमाले सचिवालय बैठकले नै यसलाई बेमौसमी विषयको संज्ञा दिएको छ ।
यतानेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अहिलेको गठबन्धन तोडेर नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल नभएको स्पष्ट पारेका छन् । मुलुकको राजनीतिक स्थायित्वका लागि नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल नभएको बताएका उनले नयाँ सरकार गठन हुने भन्ने भ्रममा नपर्न आग्रहसमेत गरेका छन् । तर कांग्रेसकै महामन्त्री गगन थापाको अभिव्यक्तिदेखि विभिन्न विषयमा एमाले कांग्रेसमा देखिएको मतभेद स्वभाविक देखिएका छैनन् ।
जहाँ कुम्भमेलाका बेलामै भारतले ओलीसँगको सहकार्यपछि कांग्रेसलाई हेर्ने नजर केहो भन्ने प्रष्ट संकेत गरिसकेको छ । त्यसबाहेक सडकबाटै बढेको घेराबन्दीसमेत अर्को कारण बन्दा ओलीले नै नेतृत्व छोड्ने तथा गठबन्धन नछोड्ने मौकाको पर्खाइमा स्वयम् कांग्रेससमेत छ । यद्यपि,नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि सरकार बनाउनेबारे कांग्रेस–एमालेसँग छलफल नै नभएको बताएका छन् । सरकारमा जाने कुनै नीति नभएको र यो सम्भव नहुने बताएका उनले सरकारमा रहेका दलका नेताहरुसँग सत्यनिरुपण र मेलमिलाप आयोग लगायतका विषयमा मात्र छलफल भएको प्रष्टीकरण दिएका छन् ।
हुन त प्रचण्डलाई पनि सत्तामाभन्दा बाहिर नै फाइदा भइरहेको छ । एकपछि अर्को मुद्दा पाएका उनी विपक्षीको मोर्चा बनाउन सकेमात्र पनि सफल हुने छन् । यता काम गर्न नसकेको र राजावादीको पेलानले सरकार भने आफँै गलिरहेको छ । यसले स्थिर सरकारको भाष्यमै प्रश्न उठ्दा त्योसमेत प्रचण्डकै एजेण्डा सफल भएको अवस्था हो । तर हारेकै मान्छे प्रधानमन्त्री भएको विगतको उदाहरणकाबीच पेचिलो बन्दै गएको राजनीतिक अवस्थाले अपेक्षित र प्रत्याशित नतिजामात्र ल्याउनेमा ढुक्क हुने अवस्था भने छैन ।
प्रतिक्रिया