सत्ताविमुख भएपछि छटपटीमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकैचोटी विभिन्न गोटी चालिरहेका छन् । एकातर्फ पार्टी सुदृढीकरणको कुरा गर्ने अर्कातर्फ सत्ताफिर्तीको सपनालाई सँगै अघि बढाउने काम उनले गरिरहेका छन् । फलतः सरकारमाथि प्रश्न उठाउन सकिने विषय र माहोललाई प्रयोग गरिरहेका उनले कतै राजतन्त्र पक्षधरको माहोलसमेत प्रयोग गरिरहेका त छैनन् ? भन्ने प्रश्न व्याप्त छ ।
राजतन्त्र पुनस्र्थापनाको माग गर्दै भएका प्रदर्शनबारे प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खनिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद रोजे । तर राजावादीप्रति नरम नै सुनिएका उनले सरकारमाथि भने कडा प्रहार गरे । गठबन्धनसँग रहेको दुईतिहाइ बहुमत गणतन्त्रका लागि घातक हुन सक्ने टिप्पणी गरेका उनले राजतन्त्र समर्थकहरूको जुलुस र गतिविधितर्फ सङ्केत गर्दै भने, ‘म पछिल्ला प्रदर्शनहरूलाई केही पनि होइनन् भनेर उपेक्षा गर्दिनँ। सत्तामा रहेकाहरूलाई भन्न चाहन्छु, तपाईंहरू पनि यसका लागि भागीदार हुनुहुन्छ।’
अर्थात राजावादी सल्बलाउनुमा गणतन्त्रवादीकै गल्ती देखेका उनले त्यसको प्रहार सरकारमाथि गरे । ‘विदेशी षड्यन्त्रहरू होलान् । विगतमा पनि हामीले देख्ने गरेका हौँ। अस्तिका प्रदर्शनहरूमा पनि देख्यौँ। म त्यसलाई पहिलो ठान्दिनँ। भीडको समर्थनमा उनले भनेका थिए । मुख्य कुरा त्यहाँ फोटो जजसको टाँसिए पनि त्यहाँ उत्रिएको त नेपाली जनता नै हो नि ।’ अर्थात यो कुरा असत्य नभएपनि त्यसैको रापतापमा खेल्ने काम उनले गरेको पक्का छ ।
हुन त पार्टी बनाउनेदेखि सत्ताको बाटो खन्ने दुबै काम गरिरहेका प्रचण्ड एजेण्डाको खोजीमा छन् । फलतः कांग्रेस एमाले सत्तामा पुग्नासाथ आक्रामक बनिरहेका उनी सरकारमाथि प्रहारको हर एजेण्डालाई प्रयोग गरिरहेका छन् । यसको शुरुवात उनले प्रधानमन्त्री ओलीले भारतविरुद्ध चीन कार्ड प्रयोग गरेको आरोप लगाँउदै गरेका थिए । त्यसपछि बीआरआईमा भएको सहमतिलाई समेत अर्को मुद्दा बनाएका उनी निरन्तर एमालेविरुद्ध गरम र कांग्रेससँग नरमको रणनीति अपनाउँदै आएका छन् । यही बीचमा संविधान संशोधनबारे ओलीको भनाइ र अध्यादेशमा देखिएको कांग्रेसको विमतिमा खेल्ने कामसमेत उनले गरेका थिए । त्यही बेलासामाजिक सन्जाल नियन्त्रण गर्ने विधेयकसमेत अघि बढेपछि कांग्रेस धर्मसंकट मै परेको थियो । पछि देउवा ओलीकै पक्षमा उभिएपछिअसफल भएका उनी केही समय कांग्रेसमाथि समेत खनिए । त्यसपछि पाथीभरा केबलकारविरुद्ध भएका आन्दोलन लगायतका विषयमा उनले भविष्य देख्दा मधेश केन्द्रित अभियानसमेत गर्न भ्याए । जहाँ उनको काम नै सरकारलाई गाली गर्ने र उचाल्न सकिने मुद्दालाई चर्काइ दिनेबनेको छ ।
यता प्रधानमन्त्रीओलीले त उनलाई राष्ट्रिय समस्या नै भन्दै आएका छन् । अस्थिरताको आधार नै प्रचण्ड भएको उनको भनाइ रहँदा एमाले नेताहरु अहिलेको सबै अराजकताको नेतृत्वकर्ता नै प्रचण्डलाई मानिरहेका छन् । अर्थात सरकारलाई पेल्न सकिने जुन सुकै काम गर्न उनी पछि नपर्ने एमाले नेताहरुको विश्लेषण रहँदा राजावादीदेखि बालेनसम्मलाई उचाल्ने काममासमेत उनको हात रहेको घुमाउरो पारामा आरोप लगाँउदै आएका छन् । राजावादी, रवि, बालेन लगायतका अराजक झुण्डसँग मिलेर प्रचण्डले व्यवस्थामाथि नै प्रहार गरेको एमाले नेताहरुको बुझाइ छ ।
विपक्षीको मोर्चा बनाउनेदेखि रवि लामिछानेको मुद्दा चर्काउनेसम्मका काम गरेका प्रचण्डका ती अस्त्रहरुमा फेल भइसकेका छन् । उनले न त अध्यादेश नै रोक्न सके न त समाजवादी मोर्चा नै बलियो बनाउन सके । जसले सरकारलाई घेराबन्दी गर्ने उनको रणनीति एमाले कांग्रेसको बलियो गठजोडका अघि निरीह देखियो । जसले उनलाई फाइदा नगरेपनि देशलाई समेत घाटा भने गरेको छैन । तर व्यवस्थामाथि नै प्रश्न उठेको विषयमा दोषारोपण गर्दै बस्ने प्रचण्डको बाटो भने सिसाको घरमा बसेर अरुको घरमा ढुङ्गा हान्नु जस्तै नबन्ला भन्न सकिँदैन ।।
प्रतिक्रिया