क्यानडाका पूर्व केन्द्रीय बैंकर मार्क कार्नी सत्तारुढ दल लिबरल पार्टीको नेता बनेका छन् । ५९ वर्षीय कार्नी अब जस्टिन ट्रुडोलाई प्रतिस्थापन गर्दै क्यानडाको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् ।
क्यानडाको सत्तारुढ दल लिबरल पार्टीको नेतामा चुनिएका मार्क कार्नीले अब जस्टिन ट्रुडोलाई प्रतिस्थापन गर्दै नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । चुनावी दौडमा जित हासिल गर्दै उनले जस्टिन ट्रुडोको ठाउँ लिने भएका हुन् । उनले केही दिनमा प्रधानमन्त्रीको शपथ लिनेछन् । कार्नीले तीन प्रतिस्पर्धीसँगको चुनावी दौड पार गरेका हुन् । उनले आउने आम चुनावमा लिबरल्सको नेतृत्व गर्ने छन् । तीन प्रतिद्वन्द्वीहरूविरुद्ध सजिलै नेतृत्वको दौड जितेका कार्नीले क्यानडाको लिबरल पार्टीको तर्फबाट अर्को आमचुनाव लड्नेछन् । जस्टिन ट्रुडोले आफ्नै पार्टी भित्रबाट राजीनामा दिन बढ्दो दबाबको सामना गर्नुपरेको थियो । दबाबका कारण उनले नौ वर्ष प्रधानमन्त्रीको रूपमा सेवा गरेपछि जनवरीमा राजीनामाको घोषणा गरेका थिए । चुनाव जितेसँगै कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा जवाफ एवं सन्देश दिएका छन् । उनले ‘अमेरिकाले सम्मान नदिएसम्म’ अमेरिकी वस्तुमाथि प्रतिशोधात्मक भन्सार शुल्क जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।
को हुन त मार्क कार्नी ?
सन् १९६५ मार्च १६ मा क्यानडाको नर्थवेस्ट स्मिथमा जन्मिएका कार्नी बैंक अफ क्यानडाको आठौं गभर्नर हुन् । इङ्ल्यान्डमा पनि सात वर्ष गभर्नरका रूपमा काम गरेका थिए । उनले सन् २००८ देखि २०१३ सम्म बैंक अफ क्यानडाको गर्भनरका रूपमा काम गरेका थिए । त्यसपछि उनले बैंक अफ इङ्ग्ल्यान्डको १२०औं गभर्नरका रूपमा सन् २०१३ देखि २०२० सम्म काम गरेका थिए । कार्नी संसारकै आर्थिक क्षेत्रका धुरन्धर ज्ञातामध्येका एक मानिन्छन् ।
उनलाई सन् २०२३ मा क्यानडेली लेबर पार्टीमा आबद्ध गराइएको थियो । टाइम म्यागेजिनले सन् २०१० मा संसारकै १०० प्रभावशालीमा उनको नाम राखेको थियो । सन् २०११ मा रिडर्स डाइजेस्टको क्यानडेली संस्करणले उनलाई क्यानडाकै सबैभन्दा विश्वासिला व्यक्ति भनी चयन गरेको थियो । यस्तै फाइनान्सियल टाइम्स दैनिकले उनलाई सन् २००८ को आर्थिक संकटबाट निकाल्ने र अघि बढाउने व्यक्तिका रूपमा चिनाएको थियो । चार सन्तानका पिता कार्नीले एक पुस्तक लेखेका छन् । ‘भ्यालुजः बिल्डिङ अ बेटर वल्र्ड फर अल’ पुस्तकमा उनले बजारमुखीभन्दा पनि समुदायमुखी अर्थतन्त्र बनाउनुपर्ने बताएका छन् ।
विश्वव्यापी महामारीबाट स्वास्थ्य र आर्थिक संकट चुलिएको छ । जलवायु परिवर्तनले अस्तित्व नै खतरामा पर्ने क्रम बढ्दै जान थालेको छ । यस्तोमा बजार अर्थतन्त्रभन्दा समाज अर्थतन्त्रमा ध्यान दिनुपर्ने जिकिर उनले पुस्तकमा गरेका छन् । पुस्तकमा आफ्ना धारणाहरू राख्नु र वास्तवमै त्यसलाई कार्यान्वित गर्नु निकै अप्ठेरो छ । पछिल्लो समय क्यानडा आर्थिक सुस्तता झेलिरहेको अवस्थामा अमेरिकी राष्ट्रपतिले क्यानडाकै अस्तित्वलाई लिएर ठट्टा गरिरहेका छन् । प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका कार्नीले क्यानडाको राजनीति र बिग्रँदो आर्थिक सुस्ततालाई कसरी सन्तुलन मिलाउलान् ? उनी सत्ता नेतृत्वमा आउने भएसँगै सबैले चासोपूर्वक हेरिरहेका छन् ।


प्रतिक्रिया